बुद्धिजीवी र बाैद्धिकबीचको भिन्‍नता

झट्ट सुन्दा र बुझ्दा बुद्धिजीवी र बौद्धिक समान अर्थ दिने पर्यायवाची शब्दहरू हुन् भन्ने लाग्छ। केही हदसम्म यी दुवै शब्दहरूको समान अर्थ पनि छ। चिकित्सक, इन्जिनियर, वकिल, शिक्षक, अर्थशास्त्री, समाजशास्त्री, इतिहासविद् आदि विभिन्न विधाका जानकारहरूलाई समाजमा बुद्धिजीवी, विद्वान, विज्ञ, बौद्धिकजस्ता विशेषण प्रयोग गरिन्छ। हुन पनि बुद्धिजीवी र बौद्धिकहरू समाजका सबैभन्दा शिक्षित वर्ग हुन्। कुनै खास विधा वा विषयमा दुवैको विशेष दखल वा विज्ञता हुन्छ। तथापि, बुद्धिजीवी र बौद्धिकमा सारभूत भिन्नता पनि छ।

बुद्धिजीवी हुनु भनेको स्वतः बौद्धिक भएको अवस्था होइन। वौद्धिकता भनेको बुद्धि खियाउने, बुद्धि बेच्ने, बुद्धिको प्रयोगबाट विषयलाई सोच्ने, अवलोकन गर्ने, बुझ्ने र धारणा निर्माण गर्ने कलाभन्दा फरक एवं परको अवस्था हो। सूचना, तथ्यांक, अभिलेख र जानकारीको  प्राप्ति, भन्डारण, विश्लेषण गरेर मात्र पनि बाैद्धिक भइँदैन। बौद्धिकता भनेको विचार, दर्शन र सिद्धान्तको निर्माण  तथा  विकास एवं  त्यसको परीक्षण समेत हो।

 मुलुकमा विश्वविद्यालय, अनुसन्धान केन्द्र र प्राज्ञिक संस्थाहरूको पूर्वाधार, स्वायत्तता, गुणस्तर, क्रियाशीलता, खोज एवं अन्वेषणको धरातलीय यथार्थले बाैद्धिक क्षेत्रको घनत्व, आयाम, स्वरूप र प्रभावको निर्धारण गर्छ। बाैद्धिकहरू आफैँले आफैँमाथि शासन गर्छन्। अरूबाट शासित हुनुभन्दा स्वशासनमा बस्न सक्नु अति कठिन हुन्छ। आफ्ना पेसागत, व्यावसायिक, वर्गीय स्वार्थ र हितभन्दामाथि उठेर मुलुक र जनताको लागि सोच्ने क्षमता उनीहरूमा हुन्छ। बुद्धिजीवी यस तह र आयाममा पुगेको हुँदैन।

 हिजो के थियो भन्ने आयामबाट आजलाई हेर्न र बुझ्न खोज्ने चरित्र बुद्धिजीवी देखिन्छ। बौद्धिकहरू नवीनता र परिवर्तनको आयामबाट आज के हुनुपर्छ र भोलि हामी कहाँ पुग्नुपर्छ भन्ने प्रश्नमा विमर्श गर्छन्। बुद्धिजीवी र वौद्धिकहरूबीचको भिन्नताहरूलाई समग्रमा यसरी उल्लेख गर्न सकिन्छ।

१. बुद्धिजीवी हुनु भनेको विचार र चिन्तनको मध्यम तहमा पुग्नु हो। बुद्धिजीवी मूलतः घट्ना र समस्यामा केन्द्रित हुन्छ। बाैद्धिक हुनु भनेको विचार र दर्शनको निर्माण तथा विकासमा पुग्नु हो। कल्पनाशीलताको भाव, नवीनताको खोज र परिवर्तनको सोच तथा अनुसन्धानमा निरन्तर संलग्नताको कारणले बौद्धिकहरूलाई वैज्ञानिक पनि भनिन्छ।बुद्धिजीवी वैज्ञानिक होइनन्, सारमा व्यवस्थापक र बढीमा रणनीतिकारसम्म हुन्।

२. बुद्धिजीवीको जन्म विश्वविद्यालयको डिग्री प्राप्तिबाट हुन्छ। बाैद्धिकको जन्म अनवरत खोज र अनुसन्धानको कर्मबाट हुन्छ।

३. बुद्धिजीवी बजारको उत्पादन हो। बजारले मानिस र समाजको मस्तिष्क व्यवस्थापन गर्न थरिथरिका बुद्धिजीवीको उत्पादन, विकास र ब्रान्डिङ गर्छ। बाैद्धिकहरू प्रज्ञाको उत्पादन हुन्। अनुसन्धान बाैद्धिकहरूको नित्य कर्म हो। बाैद्धिक र बजार एक अर्काका  विपरीत शक्तिहरू हुन्। बजारले आफ्नो संरचागत चक्रबाट बाैद्धिकलाई रोक्न, छेक्न, वैचारिक रूपमा खुइल्याउन र सिध्याउन खोज्छ।

४. बुद्धिजीवीहरू असाध्य रणनीतिक हुन्छन्। बाैद्धिकहरूलाई रणनीतिक हुन आवश्यक नै पर्दैन। बाैद्धिकहरू  बाैद्धिक  निष्ठा, निष्पक्षता, इमान र सत्यको उद्घाटनमा सदैव अडिग र सक्रिय रहन्छन्।

५. बाैद्धिकहरू  विद्यमान संरचनागत डिजाइन र मूल्य प्रणालीभन्दा पर  ( बिओइन्ड द बक्स)  पनि सोच्छन् र जान्छन् । बुद्धिजीवीको लागि त्यो अकल्पनीय मात्र होइन, अप्रिय पनि हुन्छ।

६. बुद्धिजीवीले आफ्नो अध्ययन र कर्मको विधालाई नै अन्तिम सत्य र ब्रह्माण्ड ठान्छ। बौद्धिकहरूलाई भने यो ज्ञान हुन्छ कि एकै विषयमा विभिन्न विधामा फरक-फरक मान्यताहरू पनि रहेका हुन सक्छन् र बहुविधात्मक ज्ञान एवं अनुभवको संयोजनले मात्र  कतिपय विषयको गहिराइमा पुग्न सकिन्छ।

७. कुनै एक विषयमा विज्ञता हासिल गरेको आडमा बुद्धिजीवी आफूलाई अरू विषयको पनि विज्ञ ठान्छ । जुन विषयमा उसलाई सिर्फ सामान्य ज्ञानसम्म हुन्छ। बाैद्धिकहरू  इमान्दारी र अनुशासनमा सदैव रहन्छन्।

८  गुगल, विकिपेडियाबाट जानकारी संकलन गरेको भरमा पनि बुद्धिजीवी आफूलाई विज्ञ ठानेर प्रस्तुत हुन सक्छ। बाैद्धिकहरू आफूले अनुसन्धान नगरेको वा आफूलाई विशेष ज्ञान र अनुभव नभएको विषयमा कहिल्यै बोल्दैनन्, लेख्तैनन्। आफूलाई थाहा नभएको विषयमा- म यस विषयको ज्ञाता होइन भन्ने सरल जवाफ सहजै दिन्छन्।

९. केही किताब वा लेखहरू लेखेको वा सनसनीपूर्ण अन्तर्वार्ता दिएको आधारमा मिडियाले विज्ञ वा विद्वानको पगरी गुथाइदिएको भरमा नै बुद्धिजीवीले आफूलाई दिग्गज विज्ञ ठान्न सक्छ। बाैद्धिकहरू भने आफूलाई बाैद्धिकता र कर्मबाट निखार्छन्। प्रमाणमा आधारित अभिव्यक्ति दिन्छन्। सनसनी मच्चाउने, अतिरन्जना फैलाउने, मिथ्या र भ्रम फिँजाउने एवं विषयलाई प्रदूषित पार्ने कार्य गर्दैनन्।

१०. राज्यले आफूलाई महानविज्ञ मानोस्, पद दियोस् भन्ने मनोविज्ञान र लबिङमा बुद्धिजीवी बाँचेको हुन्छ। राज्यले आफ्नो इच्छा र माग नसुनेकोमा आक्रोश, कुण्ठा पोख्ने  एवं  राज्यको ठीक नीति, निर्णय र कार्यक्रमको पनि विरोध गर्ने प्रवृत्ति हुन्छ। बाैद्धिकहरू भने मानसम्मान र पदको लागि राज्यसँग प्रत्यक्ष, परोक्ष, सांकेतिक वा कूटनीतिक रूपमा माग र लबिङ गर्दैनन्।

११. बुद्धिजीवीले बजार र समयको जोखाना हेर्छ। सत्य अभिव्यक्त गर्दाको सम्भावित परिणाम तथा जोखिमको मिहिन हिसाब र आकलन गर्छ। सत्य र तथ्य अभिव्यक्त गर्दा बजार र भिडबाट लखेटिनुपर्ने, अवस्था छ, छैन? आफ्नो प्रतिष्ठा, सम्मान, व्यावसायिक लाभमा आघात हुने स्थिति आउँछ, आउँदैन? आफू कतै बहिष्करणमा त परिन्न  भन्नेमा बुद्धिजीवी सदैव सचेत र सावधान हुन्छ।  त्यसैले, बुद्धिजीवीले बजार र भिडको प्रिय हुने बाटो रोज्छ। सत्य बोल्नुपर्ने अवस्थामा पनि घुमाउरो र अमूर्त कुरा गर्छ। विषयलाई घुमाउँछ। उता बाैद्धिकहरूमा भने त्यस्तो डर र त्रास हुँदैन। बजारले के भन्ला? भन्ने चिन्ता हुँदैन। नलेखिएका, छोपिएका, भ्रमित पारिएका, बुट्टा भरिएका, मिथ्याको लेपन लगाइएका र बजारबाट थिचिएका सत्य र तथ्यहरूको उदघाट्न गर्ने भनेकै बाैद्धिकहरू हुन्, जो कुनै पनि  जोखिम, घाटा र सजायलाई रतीभर परबाह गर्दैनन्। जस्तोसुकै अवस्था भए पनि, अहिलेसम्मको पद, प्रतिष्ठा र सम्मान धुलिसात हुने जोखिम रहे पनि पनि सरल तरिकाले सत्य र तथ्य व्यक्त गर्न डराउँदैनन्।

१२. बुद्धिजीवीले आफ्नो व्यक्तिगत, व्यवसायिक स्वार्थको लागि वा आन्तरिक वा वाह्य स्वार्थ शक्तिको प्रभाव र आडमा जानीजानी झुटो कुरालाई सत्यको रंग लगाइदिन्छ। बाैद्धिकहरूले झूठको पर्दा उघारेर सत्य र तथ्य देखाउँछन्।बाैद्धिकहरू कुनै शक्तिको गोटी बन्दैनन्। बाैद्धिकहरू आफ्नो ज्ञान, विवेक र मुलुकप्रति मात्र उत्तरदायी हुन्छन्।

१३.  रणनीतिक उद्देश्य राखेर बुद्धिजीवी अवस्थाअनुसार मौनतामा रहन्छन्। भ्रम, मिथ्या र हल्लामा आधारित भाष्यले समाजलाई  प्रदूषित गर्दा पनि  रणनीतिक लाभको लागि मौनतामा रहनु बौद्धिकहरूको लागि अधर्म हो। बाैद्धिकबाट त्यस्तो अधर्म हुँदैन।

१४. विज्ञानका सिद्धान्तहरूलाई पनि बुद्धिजीवीले आफ्नो तर्क र अनुभवको आडमा काट्ने, बंग्याउने र अस्वीकार गर्ने  कौशल देखाउँछ। विज्ञानलाई विज्ञानले मात्र काट्न सक्छ भन्ने सत्यलाई स्वीकार गर्न बुद्धिजीवीलाई अति सकस हुन्छ। बाैद्धिकले विज्ञानका सिद्धान्तहरूलाई आफ्नो मनोगत तर्क, अनुभव र मनोभाववाट हेर्दैन। विज्ञानलाई नीतिगत दर्शनबाट बौद्धिकले दिशा निर्देश भने गर्छ। विज्ञानको स्वतन्त्रताले आवादी गरोस्, बरबादी नल्याओस् भन्ने मानवीय पक्षबाट बौद्धिकले विज्ञानलाई पृष्ठपोषण  दिन  सक्छ।

१५‍. बुद्धिजीवीलाई बजारले प्रयोग, उपयोग र दुरुपयोग गर्छ। बौद्धिकहरू बजारका रणनीतिक साझेदार वा सहयोगी होइनन्। बजारको लहर र भाष्यलाई चुनाैती दिने तथा समाजमा बजारको शासन हुन नदिने शक्ति बाैद्धिकहरूमा हुन्छ।

 १६. बौद्धिक जगत राज्यको पाँचौँ अंग हो जसले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र खबरपालिकालाई समेत निगरानी तथा खबरदारी गर्छ। राज्यका चारै अंगलाई तिनका सीमाभित्र राख्न ठोस र निर्भीक धारणा सार्वजनिक गर्ने  सामर्थ्य बाैद्धिकहरूमा हुन्छ। बुद्धिजीवीले बाैद्धिकको यो सामर्थ्य धारण गर्न सक्तैन। बाैद्धिकहरूको हस्तक्षेप नभएको समाजमा राज्यका अंगहरू अति छाडा हुन्छन्। एकले अर्कोलाई तर्साएर आफ्ना निहित स्वार्थ पूर्ति गर्छन्।

१७. जुन समाजमा बुद्धिजीवीहरूको संख्या अति धेरै हुन्छ, त्यो समाजले विज्ञ, अभियन्ता, अध्यता र प्रदूषणकर्ताबीचको भेद छुट्याउन नसक्ने खतरा हुन्छ। जहाँ बौद्धिकहरू हुन्छन्, त्यो  राज्य कहिल्यै असफल हुँदैन।

१८. समान तथ्य, प्रसंग र अवस्थामा पनि बुद्धिजीवीले समय र पात्रलाई हेरेर आफ्ना धारणाहरू सजिलै बदलिरहेको हुन्छ। झुकाव, आग्रह वा पूर्वाग्रहबाट ग्रसित भएर। बौद्धिकहरू आफ्नो धारणामा अडिग हुन्छन्। धारणा परिवर्तन गर्नुपर्ने वस्तुगत अवस्था भएमा त्यसको कारणसहित धारणा परिवर्तन गर्छन्।

१९. बुद्धिजीवीले आफ्नो गल्ती सहजै स्वीकार गर्दैनन्। सार्वजनिक रूपमा माफी माग्न तयार हुँदैन। बाैद्धिकहरू आफ्नो गल्तीलाई सहजै स्वीकार गर्छन् र माफी पनि माग्छन्।

२०. आजको दुनियाँमा जानकारी, तथ्यांक र सूचनामा पहुँच प्राप्त गर्न सहज  भएकोले बुद्धिजीवी हुन पनि धेरै सजिलो छ। त्यसैले, बुद्धिजीवीहरूको उत्पादन बढेको बढ्यै छ। आज बजारले नै बुद्धिजीवीमाथि लगानी गर्छ। बाैद्धिक हुन भने आफ्नै बलबुता र लगानी चाहिन्छ। बाैद्धिक शुद्धता, निष्पक्षता, स्वतन्त्रता  र सक्षमताको स्तरमा रहिरहेको देखिनुपर्छ।  विचारमाथि बजारको शासन चलेको आजको बजार युगमा बाैद्धिक हुन र टिक्न महाकठिन छ।

२१. बुद्धिजीवी बजारमा सेलेब्रेटी हुन्छ। उसले बोलेका कुराहरू भाइरल बन्छन्। बाैद्धिक भने सहजै सार्वजनिक रूपमा भेटिँदैन, देखिँदैन। उसका विश्लेषण र धारणाहरू बजारको लागि अयोग्य र घातक हुन्छन्। बजारले विकास गरेको  भाष्य र संकथनमा आधारित सफ्टवेयर तथा एप्लिकेसन डाउनलोड भइसकेका मस्तिष्कहरूको लागि बौद्धिकहरूका कथन कर्कसराग हुन्।

नयाँपत्रिकाबाट साभार

Leave A Reply

Your email address will not be published.