डोटीको बुडर क्षेत्रका सहकारी सँस्थाहरुलाई एकीकरण गरिने

कबिराम डाँगी
बुडर, डोटी
जोरायल गाउँ पालिका वडा नं. २ छतिवनमा रहेका सहकारी सँस्थाहरु एकीकरण गर्न पहल गरिने भएको छ । बुडर स्थित छहरा बचत तथा ऋण सहकारी सँस्था लिमिटेड बुडरको शुक्रबार सम्पन्न १६ औं वार्षिक साधारण सभाले एकै प्रकृतिका सहकारी सँस्थाहरुलाई एकीकरण गरि सबल र सुदृढ सहकारी सँस्था निर्माणका लागि पहल गर्ने निर्णय गरेको सहकारी सँस्थाका प्रबन्धक रामबहादुर जेठाराले जानकारी दिनु भयो ।
प्रबन्धक जेठाराका अनुसार शुरुमा छहरा बचत तथा ऋण सहकारी सँस्था र जोरायल बचत तथा ऋण सहकारी सँस्थाका वीचमा एकीकरण गर्नका लागि दुबै सँस्थाका प्रतिनिधी रहेको एक कार्य दल समेत निर्माण गरिएको छ । जोरायल बचत तथा ऋण सहकारी सँस्था लिमिटेडले पुस २३ गते आयोजना हुने वार्षिक साधारण सभाबाट एकीकरण गर्ने प्रस्ताब पारित गर्ने कार्यक्रम रहेको छ । त्यसपछि जोरायल गाउँपालिका वडा नं. २ मा रहेका सबै बचत तथा ऋण सहकारी सँस्थाहरुलाई एकीकरण गर्न छलफल थालिने छ ।
यसैगरि छहरा बचत तथा ऋण सहकारी सँस्थाको १६ औं वार्षिक साधारण सभाले ६५ बर्ष भन्दा माथीका शेयर सदस्यहरु, सबै एकल महिला शेयर सदस्यहरु तथा सुत्केरी शेयर सदस्य महिलालाई वार्षिक रुपमा २ सय ५५ का दरले प्रोत्साहान रकम उपलब्ध गराउने, शेयर सदस्य मध्ये कसैकोे मृत्यु भएमा मृतकका परिवारलाई एकमुष्ट १ हजार ५ सहयोग स्वरुपमा उपलब्ध गराउने निर्णय भएको सहकारी सँस्थाले जनाएको छ ।
छहरा वचत तथा ऋण सहकारी सँस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभामा बोल्दै प्रमुख अतिथी वडा नं. २ का वडा अध्यक्ष बिरबहादुर दर्लामीले वडामा सबल र सुदृढ सहकारी सँस्थाको आबश्यकता रहेको कुरामा जोड दिनु भयो । अध्यक्ष दर्लामीले वडामा रहेका एकै प्रकृतिका सहकारी सँस्थाहरु एकीकरण गर्न आबश्यक रहेको र त्यसका लागि वडा कार्यालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
सहकारी सँस्थाका अध्यक्ष गणेशबहादुर बिष्टको अध्यक्षता तथा लेखा समिति सदस्य टेकराज भण्डारीको सन्चालनमा सम्पन्न वार्षिक साधारण सभामा कैलाली स्थित साना किसान बिकास लघु बित्त बित्तिय सँस्थाका कृष्णगोबिन्द ढुँगेल, वडा नं. २ का वडा सदस्य मिना बिक लगायतका बक्ताहरुले बोल्नु भएको थियो ।
कार्यक्रममा सहकारी सँस्थाका अध्यक्ष गणेशबहादुर विष्टद्वारा प्रस्तुत वार्षिक प्रतिबेदन, लेखा समिति सँयोजक हिक्मतबहादुर मल्लद्वारा प्रस्तुत लेखा समितिको प्रतिबेदन, सहकारी सँस्थाका प्रबन्धक रामबहादुर जेठाराद्वारा प्रस्तुत वार्षिक आय व्यय प्रतिबेदन छलफल सहित पारित गरिएको थियो ।
कार्यक्रममा उत्कृष्ट ऋण कारोवार गर्ने जगत सोव सिजापति र पदमबहादुर चन्द, उत्कृष्ट नियमित बचतकर्तामा रामबहादुर जेठारा र दामोदर भट्राई, बाल बचतकर्ता मध्यवाट एसईई परीक्षामा प्रथम हुने भावनाकुमारी जेठारा र अम्मर भट्राई तथा जेष्ठ शेयर सदस्य ११ जनालाई सम्मान गरिएको थियो ।
कुल ७ सय ९५ जना शेयर सदस्य रहेको उक्त सहकारी सँस्थाले गत आर्थिक बर्षमा १ करोड ६३ लाख ४९ हजार ५ सय ६७ बरावरको कारोवार गरेको वार्षिक साधारण सभामा जानकारी गराईएको थियो ।

Leave A Reply

Your email address will not be published.