घण्टेश्वर अनलाईन
गैरा डोटी
जोरायल गाउँपालिका वडा नं. १ स्थित जैविक विविधता सँरक्षण कृषि सहकारी सँस्था लिमिटेड गैराको नवौं वार्षिक साधारण सभा सहकारी सँस्थाहरुको एकीकरणमा जोड दिदै शुक्रबार गैरामा सम्पन्न भएको छ ।
वडामा छरिएर रहेका सहकारी सँस्थाहरुलाई एकीकरण गर्दै एउटै सहकारी सँस्था निर्माण गर्ने बिगत लामो समय देखि बहस भएपनि निष्कर्षमा पुग्न नसकेकाले पुन एकीकरणका लागि पहल गर्ने साधारण सभाबाट निर्णय भएको सो सहकारी सँस्थाका ब्यवस्थापक गणेश बिष्टले जानकारी दिनु भयो ।
सो सहकारी सँस्थाको नवौं साधारण सभामा बोल्ने बक्ताहरुले पनि सहकारी सँस्थाका एकीकरण अभियानलाई निष्कर्षमा पुर्याउनु पर्ने कुरामा जोड दिएका थिए । जोरायल गाउँ पालिका वडा नं. १ का वडा अध्यक्ष जगतबहादुर मल्लले वडा नं. १ मा रहेका एकै प्रकृतिका सहकारी सँस्थालाई एकीकरण गर्न आग्रह गर्दै त्यसका लागि वडा तथा गाउँ पालिकाले सक्दो सहयोग गर्ने बताउनु भयो ।
जैविक विविधता सँरक्षण कृषि सहकारी सँस्थाका अध्यक्ष कबिराम डाँगीको अध्यक्षता तथा हेमबहादुर बोहराको सँचालनमा सम्पन्न नवौ साधारण सभामा जोरायल गाउँ पालिका कृषि शाखाका प्राबिधिक चन्द्र सार्की, वर पिपल बचता तथा ऋण सहकारी सँस्थाका अध्यक्ष गमबहादुर खत्री, गौरी शँकर माबि व्यवस्थापन समितिका अध्यक्ष सोभान ओली, समाजसेवीहरु क्रमसः भिमबहादुर मल्ल, खडकबहादुर मल्ल, मोहनबहादुर मल्ल, ज्ञानुदेबी मल्ल लगायतका बक्ताहरुले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रममा सहकारी सँस्थाका अध्यक्ष कबिराम डाँगीले प्रस्तुत गर्नु भएको सहकारी सँस्थाको वार्षिक प्रतिबेदन, कोषाध्यक्ष गीता रावत महताले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिबेदन, लेखा समिति सँयोजक भोजबहादुर मल्लले प्रस्तुत गर्नु भएको लेखा समितिको प्रतिबेदन छलफल गरि पारित गरिएको थियो ।
कुल ३ सय ४४ शेयर सदस्य रहेको उक्त सहकारी सँस्थाले जैविक विविधताको सँरक्षण, रैथाने वालीको बिऊ सँरक्षण तथा पुनउत्पादन गरि कृषकहरुलाई बितरण गर्दै आएको छ ।
