बाल सुधार गृह डोटीका बालकहरुलाई बाँसका मुढा बनाउने तालीम

गणेश मौनी
सिलगढी
डोटीको सिलगढी स्थित बाल सुधार गृहका बालकहरुलाई बाँसको मुढा बनाउने सीपमूलक तालीम दिईने भएको छ । घरेलु तथा साना उद्योग कार्यालय राजपुर डोटीको आयोजनामा बाल सुधार गृह डोटीमा रहेका १२ जना बालकहरुलाई बाँसका मुढा बनाउने तालीम दिन लागिएको हो ।
बाल सुधार गृहमा रकेका १२ जना बालकहरुको लागि आयोजना गरिएको १ महिने बाँसका मुढा बनाउने तालीम बुधबारबाट शुरु भएको छ ।
तालीम कार्यक्रमको शुभारम्भ गर्दै डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बाल सुधार गृहमा राखिएका बालकहरुलाई सीपमूलक तालीम दिई आत्मनिर्भर बनाउन आबश्यक रहेको बताउनु भयो ।
बिभिन्न मुद्दामा बालकहरुलाई सुधार गृहमा राखिएको छ । उनिहरुलाई घरपरिवार तथा समाजमा स्थापित हुनका लागि बेलाबेलामा मनोसामाजिक परामर्श समेत आबश्यक पर्दछ । त्यसका लागि बालकहरुलाई मनोसामाजिक परामर्श सहित बिभिन्न सीपमूलक तालीमबाट प्रशिक्षित बनाउनु पर्नेमा प्रमुख जिल्ला अधिकारी श्रेष्ठको जोड थियो ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार बालसुधार गृहमा रहेका बालकहरुलाई बेलबेलामा दक्ष ब्यक्तिद्वारा बिभिन्न बिषयमा कक्षा सन्चालन तथा परामर्श दिईनुका साथै सीपमूलक तालीमहरु सन्चालन हुँदै आएका छन ।
तालीमको शुभारम्भ कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग कार्यालय राजपुर डोटीका प्रमुख दिपेन्द्र शाहले बाँसको मुढा बनाउने तालीमका फाईदाको वारेमा चर्चा गर्दै तालीममा सिकेका कुरालाई व्यवहारमा लागु गर्नु पर्ने कुरामा जोड दिनु भयो । सहभागिहरुलाई बाँसको मुढा बनाउन आबश्यक सीप दिएर दक्ष बनाउने र सफल व्यवसायी बनाउने उद्देश्य रहेको बताउदै नयाँ सीप सिक्ने रुचि भएमा आबश्यकता अनुसार सहयोग गर्न सकिने प्रमख शाहले बताउनु भयो ।

एक महिने बाँसको मुढा बनाउने तालीम सम्पन्न भएपछि सहभागिहरुलाई प्रमाण पत्र तथा बाँसको मुढा बनाउन आबश्यक औजारहरु पनि उपलब्ध गराईने कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार गत आर्थिक बर्षमा बाल सुधार गृहमा रहेका १२ जना बालबालिकाहरुलाई हाउस वाईरिङ तालीम उपलब्ध गराएको थियो ।
डोटी जिल्लाको सिलगढीमा रहेको बाल सुधार गृह सुदुरपश्चिम प्रदेश भरीको एक मात्र बाल सुधार गृह हो । बालसुधार गृह डोटीमा हाल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका ३९ जना बालकहरु रहेका छन् ।

Leave A Reply

Your email address will not be published.