घण्टेश्वर अनलाईन
धनगढी
डेउडा प्रतिष्ठानको आयोजनामा हुन लागेको ३ दिने सुदूरपश्चिम प्रदेश स्तरीय खुल्ला डेउडा प्रतियोगिता आजबाट शुरु हुने भएको छ ।
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका ३० वटा डेउडा समूहको सहभागिता रहने उक्त प्रतियोगिताको आज सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री सन्तोष थापा शर्माले आज बिहान ११ बजे सुदूरपश्चिम साहित्य प्रतिष्ठानको प्राङगण धनगढीमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
डेउडा सुदूरपश्चिमको पहिचान हो, सँस्कृति हो । यसको सँरक्षण, सम्बद्र्धन र पुस्तान्तरणमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बिहिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष सुरत रावत (डोटेली कान्छा)ले बताउनु भयो ।
हरेक डेउडा समुहमा कम्तीमा ७ देखि ११ जना सम्म सहभागि हुन पाउनेछन । आईतबार समापन गरिने प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका करिब ३ सय कलाकारहरुको सहभागिता रहने छ । खुल्ला डेउडा प्रतियोगितामा प्रथम हुने समूहलाई ५० हजार नगदसहित प्रमाणपत्र, द्वितीयलाई ४० हजार नगद सहित प्रमाण पत्र, तृतीयलाई ३० नगद सहित प्रमाण पत्र र सान्त्वना हुने समूहलाई २० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने डेउडा प्रतिष्ठानले जनाएको छ ।
उक्त प्रदेश स्तरीय खुल्ला डेउडा प्रतियोगिता सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा डेउडा प्रतिष्ठानले आयोजना गरेको हो ।