डडेल्धुरामा वातावरणमैत्री सेनिटरी प्याडको शुभारम्भ

नेपाल सीआरएस कम्पनीले पहिलो पटक डडेल्धुरामा ‘फ्रिडम’ ब्रान्ड नामबाट वातावरणमैत्री सेनिटरी प्याडको शुभारम्भ गरेको छ।  बिहीबार डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरामा रहेको उग्रतारा माविमा एक भव्य कार्यक्रमका बीच सेनिटरी प्याडको शुभारम्भ गरेको हो।

अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझा, जर्मन दूतावासका उपप्रमुख साइमन हेन्केले, केएफडब्लुका प्रमुख  शंकरराज पाण्डेय, मिस नेपाल वल्र्ड २०१५ इभाना मानन्धरलगायतले विद्यालयका छात्राहरूलाई एक साथ प्याड हस्तान्तरण गर्दै शुभारम्भ गरेका हुन्।

ग्रामीण क्षेत्रमा मातृ तथा बाल शिशु स्याहार सुधार आईसीएमसीसीआर कार्यक्रमअन्तर्गत महिला तथा किशोरीहरूको महिनावारी स्वच्छता व्यवस्थापन र सुधारका लागि वातावरण मैत्री सेनिटरी प्याडको शुभारम्भ गरिएको हो।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जर्मन सहयोग केएफडब्लुबीचको सहकार्यमा प्याडको शुभारम्भ गरिएको सीआरएसका प्रबन्धनिर्देशक जीवलाल पोखरेलले जानकारी दिएका छन्। यो कार्यक्रम सुदूरपश्चिम प्रदेशको डडेल्धुरासहित बैतडी, डोटी र बझाङमा लागू छ।

यस कार्यक्रमले विद्यालयका छात्रा लगायत महिलाहरूमा महिनावारीका बेला सकारात्मक परिवर्तको ज्ञान दिने अपेक्षा लिइएको छ।

कार्यक्रम सञ्चालन भएका जिल्लामा वातावरणमैत्री प्याड सुपथ मूल्य र सहजै उपलब्ध गराउनुका साथै महिनावारी भएका बेला स्वस्थ रहन र स्वच्छ वातावरण बनाउन व्यवस्थापनमा सहयोग पुगाउने लक्ष्य लिइएको छ।

अमरगढी नगरपालिका डडेल्धुराका नगर प्रमुख ओझाले नेपाली समाजमा व्याप्त सामाजिक विभेद अन्त्य गर्न बायोडिग्रेडेबल प्याडले सामाजिक बजारीकरणले महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै, यो भेदभाव अन्त्य गर्न सबैजना विशेष गरी समुदायका पुरुष सदस्यहरू एकजुट हुनुपर्ने बताए ।

विकास संस्थानका उपप्रमुख साइमन हेन्केलेले डडेल्धुरामा बायोडिग्रेडेबल प्याड सुरु गरेकोमा सीआरएसलाई बधाई दिए।

विद्यालयमा निःशुल्क प्याडसहित नेपालले उल्लेख्य प्रगति गरेकोमा उनी प्रभावित भएको समेत बताएका छन् । यसका बाबजुद पनि नेपालमा धेरै केटी तथा महिलाले महिनावारीका कारण समस्या भोग्नुपरेको बताउदै केटी र केटा दुवैलाई यस विषयमा सिकाउनु महत्वपूर्ण रहेको बताएका छन्।

जर्मन विकास सहयोगले नेपालको यो महत्वपूर्ण विषयमा सहयोग गर्न पाएकोमा खुसी रहेको समेत उनले बताए।

कार्यक्रममा मिस नेपाल वर्ल २०१५ इभाना मानन्धरले महिनावारीलाई एक वरदानको रूपमा लिनुपर्ने बताइन्।

‘यो एक प्राकृतिक प्रक्रिया हो’ यसमा भेदभाव गर्नु हुदैन् भन्दै हरेक पुरुषहरूले आफ्ना परिवारका महिला सदस्यहरूलाइ सम्मानपूर्वक व्यवहार गर्न अनुरोध समेत गरिन्।

नेपाल सिआरएस कम्पनीका प्रबन्ध निर्देशक जिबलाल पोखरेलले नेपालका चार जिल्लामा जर्मन विकास बैंकको आर्थिक सहयोगमा कम्पनीले बायोडिग्रेडेबलको मार्केटिङ सुरु गर्ने बताए।

कार्यक्रम कार्यान्वयन साझेदार संस्था बहुउद्देश्यीय विकास समाज डडेल्धुराको सहयोगमा प्याडहरू सिआरएस द्वारा मार्केटिङ गरिने समेत उनले बताएका छन् ।

नेपाल सीआरएस कम्पनीले  सामाजिक बजारीकरणको सिद्धान्तअनुसार चार दशक अघिदेखि  परिवार योजना, मातृ तथा बाल स्वास्थ्य र यौन रोगको रोकथामका साधनहरुको बिक्रीवितरण तथा व्यवहार परिवर्तनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यस कम्पनीबाट वितरित परिवार योजनाका साधनहरु नेपालको ७७ ओटै जिल्लामा उपलब्ध छन् ।

नेपाल  सीआरएसद्वारा वितरित गरिएका केही प्रतिष्ठित ब्राण्ड ढाल, प्यान्थर, संगिनी तिन महिने सुइ , निलोकन व्हायिट, सुनौलो गुलाफ, नवजीवन तथा आकस्मिक गर्भनिरोधक चक्की इकोन रहेका छन्।

नेपाल खबरबाट

Leave A Reply

Your email address will not be published.