
गणेश मौनी
सिलगढी
समान पहुँच विकास केन्द्र (सिड नेपाल) डोटीले सँस्थाको कार्यक्षेत्रका ३ हजार ९ सय ८८ जना बालबालिकाहरूलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
परियोजना क्षेत्रका आरसि वालवालिकाहरुलाई शैक्षिक सामग्री उपलब्ध गराई बिद्यालयमा उपस्थित हुने दरमा बृद्धि गरि शैक्षिक गुणस्तरमा अभिबृद्धि गर्ने उद्देश्यले शैक्षिक सामग्री बितरण गरिएको सिड नेपालले जनाएको छ ।
वल्र्डभिजन इन्टरनेशनल नेपाल र सिड नेपाल बिचको साझेदारी कार्यक्रम अन्तरगत जिल्लाको आदर्श गाउँपालिका, सायल गाउँपालिका, पुर्विचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका कार्यक्षेत्रमा दर्ता गरिएका आर सी बालबालिकाहरूलाई शैक्षिक सामाग्री सहयोग गरिएको सिड नेपालका बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना संयोजक सुनिल जोशीले जानकारी दिनु भयो ।
परियोजना सँयोजक जोशीका अनुसार शैक्षिक सामग्री बितरण कार्यक्रममा बालबालिका तथा उनिहरुका अभिभावकहरुलाई बालविवाह तथा वालश्रम न्यूनिकरण सम्बन्धि सचेतिकरण गरिएको थियो ।
डोटीको आदर्श गाउँपालिकाका १ हजार ४ सय ९७ जना, सायल गाउँपालिकाका ७ सय ४४ जना, दिपायल सिलगढी नगरपालिकाका ६ सय जना, पुर्विचौकी गाउँपालिकाका ११ सय ४७ जना गरी ३ हजार ९ सय ८८ जना बालबालिकाहरुलाई २९ लाख ५२ हजार ८ सय ६१ रुपैयाँ बराबरको शैक्षिक सामाग्री वितरण गरिएको सिड नेपालले जनाएको छ ।
कक्षा ४ सम्मका बालबालिकाहरुलाई वितरण गरिएका शैक्षिक सामग्रीहरुमा कापी, डटपेन, पेन्सिल, ईरेजर, कटर लगायतका रहेका छन ।