घण्टेश्वर अनलाईन
जोरायल, डोटी
जोरायल गाउँपालिकाको आयोजनामा सन्चालित चौथो स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७९ सम्पन्न भएको छ । माघ २६ गते देखि २८ गतेसम्म सन्चालित उक्त प्रतियोगितामा घण्टेश्वर माबि जोरायलले समग्र बिधामा प्रथम स्थान हासिल गर्दै राष्ट्रपति रनिङ्ग शिल्ड जितेको जोरायल गाउँ पालिकाले जनाएको छ ।
जोरायल गाउँ पालिका वडा नं. ४ स्थित घण्टेश्वर माबिको खेल मैदानमा सन्चालित उक्त प्रतियोगितामा घण्टेश्वर माद्यमिक बिद्यालय जोरायलले स्वर्ण पदक ९, रजत पदक ९ र काश्य पदक ९ जितेर समग्र बिधामा प्रथम स्थान हासिल गरेको जोरायल गाउँ पालिकाका खेलकुद प्रशिक्षक पवन शाहुले जानकारी दिनु भयो ।
खेलकुद प्रशिक्षक शाहुका अनुसार दुर्गा माद्यमिक बिद्यालय लमौत्यले ५ स्वर्ण ३ रजत ३ काश्य गरि समग्र खेल बिधामा द्वितीय स्थान हासिल गरेको छ । यसैगरि रघुनाथ माबि निरौलीले ४ स्वर्ण ४ रजत पदक हासिल गरि तेश्रो स्थान हासिल गरेको छ ।
जोरायल गाउँ पालिका क्षेत्रका १० वटा बिद्यालयको सहभागिता रहेको उक्त प्रतियोगिता अन्तरगत ३० वटा ईभेन्टसका ३० वटा पदकको लागि प्रतिष्पर्धा गराईएको थियो ।
घण्टेश्वर माबि व्यवस्थापन समितिका अध्यक्ष दिपबहादुर शाहुको अध्यक्षता तथा शिक्षक मिनबहादुर रोकायाको सन्चालमा सम्पन्न समापन समारोहमा बोल्दै प्रमुख अतिथी जोरायल गाउँ पालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जोरायल गाउँ पालिकाबाट दक्ष खेलाडी उत्पादन गर्नको लागि गाउँ पालिकाले लगानी गरिरहेको बताउनु भयो ।
खेलकुदको माध्यमबाट कुनै पनि स्थानको पहिचान हुने भएकाले युवाहरुलाई खेलकुद प्रति आकर्षित गर्न आबश्यक भएको कुरामा जोड दिनु भयो ।
कार्यक्रममा बिशिष्ट अतिथी जोरायल गाउँ पालिकाका उपाध्यक्ष जमुना बोहरा, शिक्षा अधिकृत तेजबहादुर खत्री, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद सदस्य चित्रराज भट्ट लगायतका बक्ताहरुले बोल्नु भएको थियो । समापन कार्यक्रममा प्रमुख अतिथी, बिशिष्ट अतिथी र अन्य अतिथीहरुबाट बिजेता खेलाडीहरुलाई प्रमाणपत्र मेडल र ट्रफी प्रदान गरिएको थियो ।