Prem

बोगटानको छिडिखानमा बस पुग्यो, स्थानीय बासिन्दा दङ्ग

घण्टेश्वर अनलाईन
सिमचौर, डोटी
बोगटानको सिमचौर छिडिखानमा पहिलो पटक बस पुगेको छ । सोमबार सुदूरपश्चिम यातायातको बस पुगेपछि स्थानीय बासिन्दाहरु दङ्ग भएका छन । धनगढी देखि सिमचौरको छिडिखान सम्म बस पुगेपछि बोगटान फुड्सिल गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष खेम घर्तीमगर लगायत स्थानीय बासिन्दाहरुले बसका चालक तथा सह चालकलाई फुलमालाले स्वागत गरेका थिए ।
बडिकेदार गाउँ पालिका तथा बोगटान फुड्सिल गाउँ पालिकाको सँयुक्त पहलमा अत्तरकाँडा देखि सिमचौर सम्मको सडकको मोड (घुम्ती) सुधार गर्नुका साथै सडक सरसफाई गरेपछि सुदूरपश्चिम यातायातले परीक्षणको रुपमा बससेवा सन्चालन गरेको थियो ।
लामो समय देखि धनगढीबाट बागछेडा तथा अत्तरकाँडासम्म बस सेवा सन्चालन हुँदै आएको थियो । यसअघि सिमचौरसम्म सडक यातायात सन्जालाले जोडेपनि यातायातका साधनहरु सन्चालनमा आएका थिएनन । लामो समयको प्रयास र प्रतिक्षापछि बोगटान फुड्सिल गाउँपालिकाको सिमचौरसम्म बस सेवा पुगेपछि बोगटानबासीलाई धनगढीसम्म आवतजावतको लागि सहज हुने वडा नंं १ का वडा अध्यक्ष खेम घर्तीमगरले बताउनु भयो ।
डोटीको दिपायल देखि बोगटान फुड्सिल गाउँपालिकाको चवराचौतारासम्म बलेरो जीपले यातायात सेवा सन्चालन गर्दै आएका छन । सडकको गुणस्तर सुधार गरि चवराचौतारासम्म बस सेवा सन्चालन गर्न सके बोगटानबासीहरु प्रत्यक्ष लाभान्वित हुने स्थानीय बासिन्दाहरु बताउछन ।
सिमचौर छिडिखान सम्म बससेवा शुरु भएकोमा सिमचौरबासीहरुले सामाजिक सन्जालमा स्टाटस लेखेर खुशी ब्यक्त गरेका छन । छिडिखानका खेम बोहराले लामो समयको प्रतिक्षा पछि बससेवा शुरु भएकोमा सिमचौरबासीलाई बधाई दिएका     छन ।
धनगढीबाट बोगटानको छिडिखानसम्म बससेवा सन्चालनको लागि रुटप्रमिटको लागि सम्बन्धित निकायमा पहल भईरहेको बोगटान फुड्सिल गाउँ पालिकाले जनाएको छ ।
बोगटानलाई बिकास र समृद्धिले जोड्नको लागि गुणस्तरीय यातायात सेवाले जोड्नु पर्ने बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले बताउनु भयो ।
बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र चवराचौतारासम्म बस सेवाले जोड्नको लागि गाउँपालिकाले मोड सुधार, सडक चौडा बनाउने कार्यमा गाउँपालिकाले प्राथमिकता दिएको र सडकको थप गुणस्तर सुधारको लागि प्रदेश सरकार र केन्द्र सरकारलाई पनि अनुरोध गरिएको गड्सिलाले जानकारी दिनु भयो ।
बोगटानको छिडिखानसम्म सम्बन्धित निकायबाट रुट ईजाजत प्राप्त भएमा र सडकको गुणस्तर सुधार भएमा बस सेवा सन्चालन गर्न कुनै समस्या नरहेको सुदूरपश्चिम यातायात समितिले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.