घण्टेश्वर अनलाईन
दिपायल, डोटी
नेपाल सरकारका उप प्रधानमन्त्री एबं भौतिक पूर्बाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले दिगो बिकासका लागि तीनै तहका सरकार वीचमा प्रभावकारी समन्वय आबश्यक रहेको बताउनु भएको छ ।
डोटी चेम्बर अफ कमर्सको आयोजनामा आजबाट शुरु भएको तेश्रो प्रादेशिक महोत्सबको उद्घाटनको लागि डोटीको दिपायलमा पुग्नु भएका उप प्रधानमन्त्री श्रेष्ठले डोटी बिमानस्थलमा आयोजना गरिएको अन्तरकृया कार्यक्रममा बोल्दै तीन वटै सरकारका वीचमा समन्वय नहुँदा बिकास आयोजना समयमा सम्पन्न नहुने, योजना अलपत्र पर्नेे, योजनामा दोहोरोपना लगायतका समस्या रहेको बताउनु भयो ।
बिकास आयोजना सम्पन्न गर्ने जिम्मेवारी लिईसकेपछि निर्माण व्यवसायीले समयमा काम सम्पन्न गर्नु पर्ने दायित्व हो । तोकिएको समयमा गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई राज्यले उचित सम्मान तथा पुरुस्कार दिने बताउदै योजना लथालिङ्ग र अलपत्र पार्ने, राष्ट्र र जनतालाई धोका दिने निर्माण व्यवसायीहरुलाई राज्यले कानूनको दायरामा ल्याएरै छाड्ने मन्त्री श्रेष्ठले दावी गर्नुभयो ।
उत्तर दक्षिण जोड्ने धनगढी–खुटिया–दिपायल–चैनपुर–उरै भन्ज्याङ सडक, सेती लोक मार्ग, सहजपुर बोगटान दिपायल सडक, खप्तड क्षेत्रको पर्यटन बिकास यस क्षेत्रका राजनैतिक दल तथा आम जनसमुदायको चाहना रहेको पाईएको छ । ती बिकास आयोजनाबाट डोटीको बिकासमा समेत महत्वपूर्ण टेवा पुग्ने भएकाले यसको लागि सम्बन्धित निकायसँग छलफल गरि उच्च प्राथमिकताका साथ सँघीय सरकारको आगामी बजेटमा राख्न पहल गर्ने बताउनु भयो ।
अन्तरकृया कार्यक्रममा मन्त्री श्रेष्ठले बिगत ९ बर्ष देखि अलपत्र अवस्थामा रहेको शिखर नगरपालिकाको वडा नं. १० र ११ लाई जोड्ने पक्की पूलको वारेमा चासो राखेका थिए । निर्माण व्यवसायीहरुले बिकास आयोजनाहरु वीचैमा अलपत्र पार्ने देशभरको समस्या रहेको बताउदै यो पूलको वारेमा जानकारी गराउन सम्बन्धित निकायलाई निर्देशन दिईसकेको बताउनु भयो । बिकास आयोजना सम्पन्न गर्ने जिम्मा लिएर जे गरे पनि हुन्छ भन्ने सोचको अन्त गर्न आबश्यक छ । समयमा काम नसक्ने निर्माण व्यवसायीलाई शुरुमा सम्झाउने र त्यति गर्दा पनि नियतबस काम सम्पन्न नगर्ने निर्माण ब्यवसायीको सम्झौता रद्ध गरि कानूनी दायरामा ल्याईने, मन्त्री श्रेष्ठको भनाई थियो ।
अन्तरकृया कार्यक्रममा डोटीका राजनैतिक दल, जनप्रतिनिधिहरुको तर्फबाट खप्तड क्षेत्रको बिकास, सेती लोकमार्ग, सहजपुर बोगटान दिपायल सडक, धनगढी–खुटिया–दिपायल– बझाँग जोड्ने द्रुत मार्ग, बानिडुग्रीसैनको मोटरेबल पूल, डोटी बिमानस्थल सन्चालन लगायतका अधुरा बिकास आयोजनालाई सम्पन्न गर्नु पर्ने लगायतका बिषय समेटेर उप प्रधानमन्त्री एबं भौतिक पूर्बाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाईएको थियो ।
बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाको सँयोजनमा भएको उक्त अन्तरकृया कार्यक्रमको सन्चालन पत्रकार कर्ण चन्दले गर्नु भएको थियो ।