घण्टेश्वर अनलाईन
बुडर डोटी
सामाजिक बिकास कार्यालय डोटीले आज जोरायल गाउँ पालिकामा आयोजना गरिएको छुट्टा छुट्टै कार्यक्रम मार्फत २९ जना टुहुरा तथा अनाथ बालबालिकालाई बैकल्पिक हेरचाहका लागि सहयोग रकम हस्तान्तरण गरेको छ ।
स्थानीय तहबाट छनौट तथा प्राथमिकिकरण गरि पठाईएका टुहुरा तथा अनाथ बालबालिकालाई सहयोग रकम बितरण गरिएको सामाजिक बिकास कार्यालय डोटीका प्रमुख जयदेब महराले जानकारी दिनु भयो ।
टुहुरा तथा अनाथ वालवालिकाहरुलाई बैकल्पिक हेरचाहका लागि सहयोग पुगोस र बिद्यालयमा नियमित उपस्थिती दर बृद्धि होस भनेर सहयोग रकम उपलब्ध गराईको बताईएको छ ।
यसै सन्दर्भमा आज रामपुर माबि बुडरमा आयोजना गरिएको कार्यक्रममा १० जना टुहुरा तथा अनाथ बालबालिकालाई जनही २ हजार ७ सयका दरले छात्रबृत्ति सहयोग रकम बितरण गरियो । उक्त रकम जोरायल गाउँ पालिका वडा नं. २ का वडा अध्यक्ष बिरबहादुर दर्लामीले हस्तान्तरण गर्नु भएको थियो ।
यसै गरि जोरायल गाउँ पालिकामा आयोजना गरिएको कार्यक्रममा जोरायल गाउँ पालिकाका अध्यक्ष दुर्गादत्त ओझाले १९ जना बालबालिकालाई सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो ।
सामाजिक बिकास कार्यालय डोटीका अनुसार सहयोग रकम पाउने बालबालिकाहरुमा जोरायल गाउँ पालिका वडा नं. १ बाट १ जना, वडा नं. २ बाट १० जना, वडा नं. ४ बाट ११ जना र वडा नं. ६ बाट ८ जना रहेका छन । सबै वालवालिकालाई जनही २ हजार ७ सय प्रदान गरिएको कार्यालयले जनाएको छ ।