घण्टेश्वर अनलाईन
सिलगढी, डोटी
सुदूरपश्चिमको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल खप्तडको पर्यटन प्रबद्र्धन गर्न म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ ।
गँगा दशहरा पर्बमा खप्तडमा लाग्ने मेलालाई लक्षित गरि नेपाली सेनाको सिलगढी स्थित श्री भैरव प्रसाद गणको व्यवस्थापनमा दोस्रो खप्तड–शैलेश्वरी म्याराथन प्रतियोगिता २०८० आयोजना गर्न लागिएको हो ।
सुदूरपश्चिमको सुन्दर स्थल खप्तडलाई म्याराथन प्रतियोगिताका माध्यमबाट स्वदेश तथा विदेशमा चिनाउन र पर्यटन प्रबद्र्धन गर्न सहयोग गर्ने उद्देश्यले म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको गणका प्रमुख सेनानी गणपति जनमत कार्कीले बताउनु भयो ।
प्रमुख सेनानी कार्कीका अनुसार उक्त प्रतियोगिता अन्तरगत पुरुषका लागि खप्तड–सिलगढी ४२ किलोमिटर र महिलाका लागी झिग्राना–सिलगढी २१ किलोमिटर म्याराथन प्रतियोगीता सन्चालन हुनेछ ।
म्याराथन प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेलाई १ लाख ५० हजार र महिला तर्फ प्रथम हुनेलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा सहभागिहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले दशौ स्थानसम्म हासिल गर्नेहरुलाई पनि पुरुस्कारको व्यवस्था गरिएको प्रमुख सेनानी कार्कीले जानकारी दिनु भयो ।
यसैगरि खप्तड मेलाको अवसरमा खप्तड–शैलेश्वरी म्याराथन प्रतियोगिता २०८० का अतिरिक्त भलिबल, देउडा, घोडा दौड लगायतका बिभिन्न प्रतियोगिताहरु समेत आयोजना गरिने छन ।
खप्तड–शैलेश्वरी म्याराथन प्रतियोगिता २०८० को तयारी क्रममा नेपाली सेनाको भैरब प्रसाद गणले सिलगढीमा सरोकारवाला निकायका बीचमा छलफल गरेको छ । जिल्ला स्थित स्थानीय तहका प्रमुखहरु, नागरिक समाज, पत्रकार, उद्योगी वाणिज्य क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको बैठकमा प्रतियोगिताको महत्व र प्रतियोगितालाई सफल बनाउन सरोकारवाला निकायले खेल्नुपर्ने भूमिकाको बारेमा सहभागिहरुले आ आफ्नो धारणा राखेका थिए ।
बैठकमा बोल्दै दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजय खड्काले खप्तड क्षेत्र डोटी जिल्लाको भबिश्यसँग पनि जोडिएकाले यसको बिकास, प्रबद्र्धनका लागि सन्चालन गरिने सबै कार्यक्रममा दिपायल सिलगढी नगरपालिका लगायत सबै सरोकारवालाको सहयोग र समर्थन हुने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
नेपाली सेनाको सिलगढी डोटी स्थित भैरव प्रसाद गण पछिल्लो समय बिभिन्न रचनात्मक कार्यक्रम मार्फत जनताको मन जित्न सफल भएको भन्दै बैठकका सहभागिहरुले प्रशँसा समेत गेका थिए ।