
राजन खड्का
धनगढी, कैलाली
सुदूरपश्चिमको केन्द्र धनगढीमा सुदूरपश्चि प्रदेश स्तरीय खुल्ला एकल लोकगायन प्रतियोगिता आयोजना हुने भएको छ ।
“नव प्रतिभाको पहिचान, लोक संस्कृति संरक्षणका लागी हाम्रो अभियान” भन्ने मूल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, सुदूरपश्चिम प्रदेश समितिले यही चैत्र ४ गते आयोजना गर्न लागेको हो । प्रतियोगिता चैत्र ४ गते दिउँसो १२ बजे देखि कैलाली जनपुस्तकालय धनगढीको सभाकक्षमा सन्चालन हुने प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानद्वारा बुधबार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार प्रतियोगितामा सुदूरपश्चिमका ९ जिल्लाबाट ९ जनाको सहभागिता रहने छ । प्रदेश स्तरीय प्रतियोगितामा सहभागिताको लागि जिल्ला समितिले जिल्ला स्तरीय प्रतियोगिता गरि सहभागि छनौट गर्ने छ ।
सुदूरपश्चिम प्रदेश स्तरीय प्रतियोगितामा सबै प्रतियोगीहरुले लाइभ बाजामा आफ्नो प्रस्तुति दिने छन । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेलाई रु. २५ हजार, द्वितीय स्थान प्राप्त गर्नेलाई रु. २० हजार,र तृतीय स्थान प्राप्त गर्नेलाई रु. १५ हजार सहित ट्रफी, प्रमाणपत्र तथा सान्त्वाना स्थान प्राप्त गर्नेलाई रु. १० हजार र प्रमाण पत्र प्रदान गरिने प्रतिष्ठानका प्रदेश सचिब सूर्यबिरही साउँदले जानकारी दिनु भयो ।
प्रदेश सचिब साउँदका अनुसार सुदूरपश्चिमका बिभिन्न जिल्लामा रहेका नव प्रतिभाको पहिचान गर्ने, सुदूरपश्चिमको लोक कला सँस्कृतिको जगेर्नामा सहयोग पुर्याउने उद्देश्यले सुदूरपश्चिम प्रदेश स्तरीय एकल लोक गायन प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका प्रदेश अध्यक्ष पूर्ण भाटले प्रतियोगिताले हाम्रो समाजमा दर्जनौं कला र गला भएका प्रतिभाहरु भएपनि उचित स्थान नपाएर ओझेलमा परेका लोक कलाकारहरुलाई उचित स्थान दिएर अगाडी ल्याउने बिश्वास ब्यक्त गर्नु भयो ।
प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सहयोग गरेको प्रतिष्ठानले जनाउको छ ।