कबिराम डाँगी
जोरायल
जोरायलमा आयोजना गरिएको पाँचौं गाउँ पालिका स्तरीय अध्यक्ष कप भलिवल प्रतियोगिता सोमबार जोरायलको रावतकट्टेमा सम्पन्न भएको छ ।
जोरायल गाउँ पालिकाका ६ वटै वडाबाट भलिवल टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा वडा नं. ३ स्थित युनिक युथ स्पोर्टस क्लब पहिलो भएको छ ।
जोरायल गाउँ पालिकाका खेलकुद प्रशिक्षक पवन शाहुका अनुसार उक्त प्रतियोगितामा वडा नम्बर ५ गड्सेराको टिम दोश्रो र वडा नम्बर ६ निरौलीको टिम तेस्रो भएका थिए ।
स्थानीय रत्न आधारभूत विद्यालयको खेलमैदानमा सम्पन्न प्रतियोगितामा वडा नं. १ घण्टेश्वरको टिमले सान्त्वाना स्थान प्राप्त गरेको जोरायल गाउँपालिकाले जनाएको छ । कुल ७ वटा भलिवल टिमको सहभागिता रहेको प्रतियोगितामा दिनेश शाहुलाई सर्वोत्कृष्ट खेलाडी घोषित गरिएको थियो ।
उक्त भलिवल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु.३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमलाई नगद रु.२० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र, तृतिय हुने टिमलाई नगद रु.१५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा सान्त्वना स्थान प्राप्त गर्ने टिमलाई नगद रु.१० हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
समापन कार्यक्रममा खेलाडीहरुलाई पुरुस्कार तथा प्रमाण पत्र बितरण गर्दै जोरायल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नवीन ओझाले खेलकुद सभ्य समाजको पहिचान पनि भएकाले आगामी दिनमा वडा तथा गाउँ पालिकाबाट खेलकुद क्षेत्रको बिकासको लागि सहयोग गरिने बताउनु भयो ।
उक्त प्रतियोगिताको जोरायल गाउँ पालिकाका अध्यक्ष दुर्गादत्त ओझाले चैत २५ गते एक कार्यक्रमका बिचमा उद्घाटन गर्नु भएको थियो ।