घण्टेश्वर अनलाईन
जोरायल
स्थानीय स्तरमा दक्ष धावक उत्पादन गर्न जोरायलका युवाहरुले बिहिबार खुल्ला दौड प्रतियोगिता आयोजना गरेका छन ।
दोश्रो दारी ग्याङ धनगढीको दौडिन्छ जोरायल समृद्धिको बाटोमा भन्ने मूल नाराका साथ आयोजना गरिएको ३२०० मिटर लामो खुल्ला दौड प्रतियोगितामा २८ जना धावकहरु सहभागि भएका थिए ।
स्थानीय रोयल जोरायल क्लबको आयोजनामा भएको उक्त दौड प्रतियोगिता स्थानीय हाट स्थित खुल्ला मैदानबाट सिलँगीबाग र सिलँगीबागबाट हाटसम्म दौड प्रतियोगिता सन्चालन गरिएको क्लबका उपाध्यक्ष तथा कार्यक्रमका सँयोजक डिल्लीराज जोशीले जानकारी दिनु भयो ।
उक्त प्रतियोगिताका प्रमुख अतिथी जोरायल गाउँ पालिकाका प्रबक्ता नन्दराज भट्टले प्रतियोगितामा प्रथम हुने बिरेन्द्र भट्टराईलाई रु. १५ हजार, , द्वितीय हुने दिपक कठायतलाई ७ हजार र तृतीय हुने कृष्ण बोहरालाई ३ हजार प्रदान गर्नु भएको थियो भने बिशिष्ट अतिथी वडा नं. ३ का वडा अध्यक्ष नविन ओझाले धावकहरुलाई प्रमाण पत्र बितरण गर्नु भएको क्लबले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी जोरायल गाउँ पालिकाका प्रबक्ता तथा वडा नं. ४ का वडाअध्यक्ष नन्दराज भट्टले जोरायललाई दक्ष खेलाडी उत्पादन गर्ने क्षेत्रको रुपमा बिकास गर्न सबैले पहल गर्नु पर्ने कुरामा जोड दिनु भयो । रोयल जोरायल क्लबका उपाध्यक्ष डिल्लीराज जोशीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम रामु बिकले सन्चालन गरेका थिए ।