घण्टेश्वर अनलाईन
जोरायल, डोटी
निर्माण व्यवसायीको लापरवाहीका कारण बुडर जोरायल पक्की सडक र १५ शैयाको अस्पताल भवन निर्माण कार्य अलपत्र परेको भन्दै जोरायल गाउँपालिकाले सुदुर पश्चिम प्रदेश सरकारका भौतिक पुर्बधार बिकास मन्त्री प्रकास देउवाको ध्यानाकर्षण गराएको छ ।
बिभिन्न योजनाको अनुगमनका क्रममा जोरायल पुगेको मन्त्री देउवालाई जोरायल गाउँपालिकाको तर्फबाट सडक तथा अस्पतालको काम तत्काल अघि बढाउन ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाईको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिनु भयो ।
मन्त्री देउवा तथा भौतिक पूर्बाधार बिकास मन्त्रालयका सचिब प्रेमदत्त भट्ट लगायतको टोलीलाई जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरा तथा प्रबक्ता नन्दराज भट्टले स्वागत गर्नुका साथै गाउँ पालिकाका बिभिन्न समस्याको वारेमा जानकारी गराउनु भएको थियो ।
ज्ञापन पत्र बुझ्दै मन्त्री देउवाले जोरायलको बिकासमा महत्व राख्ने बुडर जोरायल सडक र १५ शैयाको अस्पताल भवन निर्माणको काम बिचैमा अलपत्र पर्नु दुःखको विषय भएको बताउदै निर्माण व्यवसायीसँग छलफल गरेर तत्काल काम अगाडी बढाउन पहल गरिने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
बुडर जोरायल २० किमि सडक पिच गर्ने जिम्मेवारी पाएको राजेन्द्र निर्माण सेवासँगको सम्झौता आगामी असार मसान्तमा समाप्त हुँदैछ । हालसम्म बुडर देखि रिठा सम्म ९ किमि सडक मात्र पिच भएको जोरायल गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार १५ शैयाको अस्पताल भवन निर्माण गर्ने ठेक्का पाएको सोही राजेन्द्र निर्माण सेवाले हालसम्म ५ प्रतिशत काम पनि सम्पन्न गरेको छैन । राजनैतिक सँरक्षणको आडमा बिकासको काममा अवरोध गर्ने निर्माण व्यवयायीको ठेक्का रद्ध गरि कारबाही गर्नुपर्ने जोरायलवासीले माग गरेका छन ।