डोटीका तेत्तिस वटा वडा कार्यालयहरु सचिब बिहिन, वडा कार्यालयको काम प्रभावित

गणेश मौनी, सिलगढी
डोटी जिल्लामा रहेका ९ वटा स्थानीय तहका ३३ वटा वडा कार्यालयहरुमा वडा सचिब पद रिक्त रहेको पाईएको छ । वडा कार्यालयमा सचिब पद रिक्त हुँदा वडा सचिबले गर्दै आएको दैनिक कार्यहरु प्राबिधिक सहायक, सहलेखापाल तथा करार सेवाका कर्मचारीहरुले सम्पादन गरिरहेका छन ।
राज्यको पुनसँरचना गर्ने क्रममा स्थानीय तहलाई साधन श्रोत सहित अधिकार सम्पन्न बनाईएको छ तर स्थानीय तहमा दरबन्दी अनुसारको जनशक्ति नहुँदा कार्यालयले प्रदान गर्ने सेवा सुबिधाहरु गुणस्तरीय रुपमा प्रवाह गर्न समस्या उत्पन्न भएको जनप्रतिनिधिहरु बताउछन ।
वडा कार्यालयका सचिबहरुले कार्यालयमा दैनिक प्रशासनिक कार्यहरु, सिफारिस, मालपोत सँकलन, राजस्व सँकलन, गाउँ तथा नगरपालिकासँग नियमित समन्वय, सामाजिक सुरक्षा भत्ता लगायतका कामहरु सम्पादन गर्ने गर्दछन ।
डोटीको सायल गाउँ पालिकामा रहेका ६ वटै वडामा सचिब पद रिक्त रहेका छन । सचिब पद रिक्त रहेका सबै वडामा अन्य समुहका कर्मचारीलाई थप जिम्मेवारी दिएर जेनतेन त काम चलाईएको छ । तर आफ्नो नियमित काम पनि गर्नु पर्ने भएकाले वडा कार्यालयको काम गुणस्तरीय रुपमा प्रवाह गर्न समस्या उत्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत कृष्ण भट्टले बताउनु भयो ।
डोटी जिल्लामा रहेका ७ वटा गाउँ पालिका तथा २ वटा नगरपालिका गरि ९ वटा स्थानीय तहमा ६५ वडा मध्य ३३ वडामा सचिब पद रिक्त रहेका छन । स्थानीय तहहरुले दिएको जानकारी अनुसार डोटीको सायल गाउँ पालिकाका ६ वटै वडा र बोगटान फुड्सिल गाउँ पालिकाका ७ वडा मध्य ६ वटा वडामा सचिब पद रिक्त रहेका छन ।
यसैगरि दिपायल सिलगढी नगरपालिकाका ४ वटा वडा, शिखर नगरपालिकाका ४ वटा, बडिकेदार गाउँ पालिकाका ३ वटा, जोरायल गाउँ पालिकाका २ वटा वडा, केआईसिंह गाउँपालिकाका २ वटा वडा, पूर्बिचौकी गाउँ पालिकाका ३ वटा वडा र आदर्श गाउँपालिकाका ३ वटा वडामा सचिब पद रिक्त रहेको सम्बन्धित स्थानीय तहले जनाएका छन ।
शिखर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुत्तोषम घिमिरेले नगरपालिकाका ४ वटा वडामा सचिब पद रिक्त हुँदा एक जना सचिबलाई २ वटा वडाको जिम्मेवारी दिएर वडा कार्यालयको काम सन्चालन गरिएको जानकारी दिनु भयो ।
उता सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले सम्बन्धित स्थानीय तहले रिक्त कर्मचारीको पदपूर्तिको माग गरेमा पदपूर्ति गर्न सकिने जनाएको छ । सम्बन्धित कार्यालयले जानकारी नगराएसम्म आयोगलाई रिक्त दरबन्दीको वारेमा जानकारी हुँदैन । कार्यालयमा कर्मचारीको अभाव भएपनि समयमा लोकसेवा आयोगमा माग नगर्दा स्थानीय तहमा कर्मचारीको अभाव हुने गरेको सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका उपसचिब हिरालाल चौधरीले बताउनु भयो ।
माग अनुसार लोकसेवा आयोगले कर्मचारीको बिज्ञापन गर्ने भएकाले सम्बन्धित कार्यालयले समयमा माग गर्नु पर्ने उपसचिब चौधरीको सुझाव रहेको छ ।

 

Leave A Reply

Your email address will not be published.