डोटीमा अन्तर्राष्ट्रिय श्रमिक दिवस ः आफुहरुले न्यूनतम ज्याला समेत नपाएको श्रमिक महिलाहरुको गुनासो

घण्टेश्वर अनलाईन
सिलगढी
डोटीका श्रमिक महिलाहरुले आफुहरुले न्यूनतम ज्याला समेत नपाएको गुनासो गरेका छन ।
१३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा डोटीका सिलगढीमा सोमवार आयोजना गरिएको श्रमिक महिलाहरूको जिल्ला सम्मेलनमा सहभागि श्रमिक महिलाहरुले डोटीका ग्रामीण क्षेत्रमा काम गर्ने अधिकाँश महिला श्रमिकहरुको श्रम शोषण भएको बताएका थिए ।
श्रमिक महिला सञ्जाल डोटीको आयोजनामा भएको सो कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ की शारदा भण्डारीले गाउँमा खानेपानी योजनाको काम गर्दा श्रमिक महिलाहरुले बिगत ४ बर्ष अघि देखिको ज्याला समेत नपाएको गुनासो गरिन ।
दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ पाकरीकी सिता विष्टको पनि शारदाको जस्तै गुनासो रहेको थियो । महिला श्रमिकहरुले समान कामको समान ज्याला नपाएको, आफुहरु जनप्रतिनिधीहरु र ठेकेदारबाट श्रम शोषणमा परेको, श्रम गर्दा व्यक्तिगत सुरक्षाको लागि प्रयोग हुने ग्लोभ्स, ज्याकेट टोपी लगायतका सामग्रीहरु नपाएको बताईन ।
शारदा र सिता जस्तै कार्यक्रममा सहभागि श्रमिक महिलाहरुले जिल्लामा श्रमिक महिलाको अवस्थाको वारेमा जिल्ला स्थित सरोकारवालाको ध्यानाकर्षण गराएका थिए । जिल्लामा श्रमको न्यूनतम ज्याला कार्यान्वयनमा नआएकाले प्रभावकारी अनुगमन गरिनु पर्ने, श्रमिकको श्रम शोषण गर्ने ठेकेदारहरु, जनप्रतिनिधीलाई कारवाहीको दायरामा ल्याउनु पर्ने, श्रमिकको सुरक्षाको लागि ध्यान दिईनु पर्ने, श्रम वाफतको ज्याला समयमा दिईनु पर्ने, स्थानीय तहले आफ्नो वार्षिक नीति तथा कार्यक्रम ल्याउदा श्रमिकको सवाललाई पनि सम्बोधन गरिनु पर्ने, नेपालको सँबिधानले प्रत्याभूत गरेका श्रमिकका अधिकारको वारेमा दवाव र जागरण बढाउनु पर्ने लगायतका धारणा राखेका थिए ।
“सामाजिक सुरक्षा मर्यादा सम्मान, श्रमको सम्मान राष्ट्रको अभियान” भन्ने नाराका साथ सम्पन्न श्रमिक महिलाहरुको जिल्ला सम्मेलनमा पत्रकार तथा मानवअधिकारकर्मी रामहरी ओझाले अन्तराष्ट्रिय श्रमिक दिवस र डोटीमा श्रमिक महिलाको अवस्थाको वारेमा आधार पत्र प्रस्तुत गर्नु भएको थियो । जिल्ला बाहिरबाट आउने श्रमिकहरुका कारण जिल्लाका श्रमिकहरुले न्यूनतम ज्याला भन्दा कम पारिश्रमिक लिएर काम गर्ने भएकाले जिल्लाका श्रमिकहरु मरमा परेकोले स्थानीय तहले श्रम तथा रोजगार सम्बन्धि ऐन तथा नियम बनाएर कार्यान्वयन गर्नु पर्ने ओझाको सुझाव रहेको थियो ।
श्रमिक महिला सञ्जाल डोटीका अध्यक्ष धनसरा आउजीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उप प्रमुख स्मृति चुनाराले समान कामको समान ज्याला कार्यान्वयन नहुँदा जिल्लामा महिला श्रमिकहरु शेषणमा परेको बताउनु भयो । श्रमिकहरू निर्माण व्यावसायीबाट ठगिने गरेको गुनासो आई रहेकाले श्रमिकहरु सँगठित भएर आवाज उठाउनु पर्ने र सरोकारवालाहरुको यस विषयमा ध्यान जानु पर्ने उप प्रमुख चुनाराको भनाई थियो ।

जिल्ला समन्वय समिति डोटीसँगको समन्वय तथा बिभिन्न सँघ सँस्थाको सहयोगमा सम्मेलन आयोजना गरिएको थियो । महिला श्रमिकहरुका समस्या, गुनासो, भोगाई र चुनौतीहरुलाई सरोकारवालासम्म पुर्याउने उद्देश्यले उक्त सम्मेलन आयोजना गरिएको थियो । कार्यक्रम अघि स्थानीय ईन्द्रचौक देखि दिपायल सिलगढी नगरपालिकाको सभाकक्ष सम्म सचेतनामूलक र्याली प्रदर्शन गरिएको थियो ।

 

Leave A Reply

Your email address will not be published.