घण्टेश्वर अनलाईन
दिपायल
डोटीको दिपायलमा स्व.सिद्धराज ओझाको स्मृतिमा भवन निर्माण हुने भएको छ । सिद्धराज ओझा स्मृति प्रतिष्ठान डोटीले दिपायल सिलगढी नगरपालिका वडा नं. ४ पिपल्लामा अढाई तलाको सुबिधा सम्पन्न भवन निर्माण गर्न लागेको हो ।
डोटीको लोकतान्त्रिक आन्दोलनका अगुवा स्व. सिद्धराज ओझाको योगदानलाई जिवन्त राख्न आठ आना जमिनमा भवन निर्माण गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष शुशिल घर्र्तीले जानकारी दिनु भयो ।
दिपायलको पिपल्लामा निर्माण हुन लागेको उक्त भवनको नेपाली काँग्रेस डोटीका सभापति नरेन्द्रबहादुर सिंहले बुधबार एक कार्यक्रमका बिचमा शिलन्यास गर्नु भयो ।
भवनको शिलन्यास गर्दै पार्टी सभापति नरेन्द्रबहादुर सिंहले स्व.नेता सिद्धराज ओझाको सम्झनामा निर्माण हुन लागेको भवनले ओझाले लोकतान्त्रिक आन्दोलनमा दिनु भएको योगदानलाई डोटेली जनताका बिचमा जिवितै राख्न सहयोग पुर्याउने बिचार व्यक्त गर्नु भयो ।
वि.सं. २००१ साल माघ ४ गते डोटीको गडसेरामा जन्मनु भएका स्व. सिद्धराज ओझा नेपाल बिद्यार्थी सँघका सँस्थापक सदस्य समेत हुन । बि.सं. २०४६÷४७ सालमा प्रजातन्त्रको पुनस्थापना भएपछि ओझा करिब १७ बर्ष नेपाली काँग्रेस डोटीको सभापति तथा २ पटक केन्द्रीय सदस्य पदमा रहेका थिए ।
डोटीको निर्बाचन क्षेत्र नं. २ बाट २०४८, २०५१ र २०५६ मा प्रतिनिधि सभा सदस्य पदमा निर्बाचित भएका ओझा भूमि सुधार मन्त्री, बन तथा वातावरण मन्त्री, कानून, न्याय तथा सँसदिय व्यवस्था मन्त्री, जनसँख्या तथा वातावरण मन्त्री, सामान्य प्रशासन मन्त्री भएका थिए । ओझा नेपालमा प्रजातन्त्रको पुनस्थापनाको लागि पटक–पटक गरि ६ वर्ष जेल तथा कबिर ७ वर्ष प्रवास बसेका थिए ।