घण्टेश्वर अनलाईन
सिलगढी
डोटीको पूर्बीचौकी गाउँ पालिकाका भुकम्प पीडित परिवारका लागि ८१ वटा अस्थायी टहरा निर्माण गरिएको छ । भुकम्प पीडितहरुलाई राहात पुर्याउने उद्देश्यले उपेक्षित समुदाय सशक्तिकरण तथा विकास मञ्च डोटीले ८१ वटा टहरा निर्माण गरेको हो । ६ महिना अघि आएको भुकम्पबाट पीडित परिवारका लागि ८१ वटा टहरा निर्माणसँगै ८८ वटा शौचालय समेत मर्मत गरिएको सँस्थाका अध्यक्ष टिकासिंह नेपालीले जानकारी दिनु भयो ।
अध्यक्ष नेपालीका अनुसार पूर्बीचौकी गाउँपालिकाका ं २, ३ र ७ नम्बर वडामा ८१ वटा टहरा निर्माण गर्न प्रति टहरा ७० हजार तथा ८८ घरधुरीमा शौचालय मर्मत गर्न प्रति शौचालय ३ हजार ५ सयका दरले जम्मा ५९ लाख ७८ हजार खर्च गरिएको छ ।
त्यसैगरी भुकम्प पीडित क्षेत्रका १ सय ४५ जनालाई प्रति ब्यक्ति १ हजार १ सय ९७ का दरले सरसफाई सामाग्री बितरण, २ सय ७५ जनालाई प्रति व्यक्ति ५ हजार १ सय ९४ का दरले न्यानो कपडा वितरण गरि जम्मा १६ लाख २ हजार ३१ रकम गरिएको उपेक्षित समुदाय सशक्तिकरण तथा विकास मञ्च डोटीले जनाएको छ ।
भुकम्प पीडित परिवारलाई वितरण गरिएको सहयोग कार्यक्रम तथा खर्च बजेटको वारेमा उपेक्षित समुदाय सशक्तिकरण तथा विकास मञ्च डोटीले सार्बजनिक सुनुवाई कार्यक्रमको आयोजना गरि सरोकारवालालाई जानकारी समेत गराएको छ ।
उपेक्षित समुदाय सशक्तिकरण तथा विकास मञ्च डोटीले लुथरन विश्व फेडेरेशन नेपालसँगको साझेदारीमा पूर्बीचौकी गाउँ पालिकामा बिभिन्न कार्यक्रम सन्चालन गरिरहेको छ ।