निर्माणाधिन भवनमा श्रमदान गरेर डोटीमा नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवस मनाईयो

घण्टेश्वर अनलाईन
दिपायल
नेपाल प्रेस युनियनको ३२ औँ स्थापना दिवस डोटीका युनियन सम्बद्ध पत्रकारहरुले जिल्ला शाखाको भवन निर्माणमा श्रमदान गरेर मनाएका छन ।
स्थापना दिवसको अवसरमा दिपायल सिलगढी नगरपालिका वडा नं. ४ पिपल्लामा निर्माणाधिन भवनको लागि युनियन सम्बद्ध पत्रकारहरुले शनिबार दिनभर सेती नदीबाट ढुँगा बोकेका थिए ।
स्थापना दिवस मनाउने बिभिन्न तरिका हुन्छन । हामीले नेपाल प्रेस युनियन डोटी शाखाको भवन निर्माणमा सहयोग पुर्याउने उद्देश्यले स्थापना दिवसको अवसर पारी श्रमदान गरेका हौं, युनियनका डोटी अध्यक्ष प्रकाश बमले बताए । अध्यक्ष बमका अनुसार युनियनको डोटी शाखा आफ्नै भवन निर्माण गर्ने देशभरको दोश्रो जिल्ला शाखा हो ।
पछिल्लो समय श्रमदान गर्ने परिपाटी बिस्तारै लोप हुनलागेको अवस्थामा पत्रकारहरुको सँस्था नेपाल प्रेस युनियनको डोटीले ब्यानर सहित श्रमदान गरेको दृष्य दिपायलमा नौलो जस्तै देखिन्थ्यो ।
यसैगरि सँगठनको ३२ औं स्थापना दिवसको अवसरमा दिपायलमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको थियो ।
जिल्ला शाखा अध्यक्ष प्रकाश बमको अध्यक्षत तथा सचिब पवन महराको सन्चालनमा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश उपसभापति लोकराज अवस्थीले युनियनको डोटी शाखाले सँस्थागत बिकास गर्दै आफ्नो भवन निर्माण शुरु गरेर प्रशँसनिय कार्य गरेको बताउनु भयो । युनियनको भवन निर्माण अभियानमा पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
उक्त कार्यक्रममा नेपाली काँग्रेस डोटीका सभापति नरेन्द्रबहादुर सिंह, पूर्ब साँसद तथा नेपाली काँग्रेसका नेता भरतबहादुर खड्का, नेपाल प्रेस युनियन डोटीका सँस्थापक सचिब मिन बम लगायतका बक्ताहरुले शुभकामना सहित आफ्नो भनाई राखेका थिए ।
उक्त अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस डोटी अध्यक्ष शंकरबहादुर कठायतले युनियनको निर्माणाधिन भवनको लागि रु १० हजार ५ सय ५५ को सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.