घण्टेश्वर अनलाईन
दिपायल
जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले युवाहरुको अग्रसरतामा मात्र भाषा, कला तथा साहित्यको जगेर्ना हुन सक्ने बताउनु भएको छ ।
डोटेली साहित्य प्रतिष्ठान डोटीद्धारा दिपायलको घटाल होटलको सभाकक्षमा आयोजना गरिएको “डोटी महफिल” बृहत रचना बाचन कार्यक्रमको शनिबार उद्घाटन गर्दै सँयोजक सिंहले स्थानीय भाषा, सँस्कृति कला साहित्यको सँरक्षणको लागि डोटेली चेलीहरुको प्रयास प्रशँसनिय रहेको बताउनु भयो ।
डोटेली भाषा, साहित्यको सँरक्षणको लागि डोटेली साहित्य प्रतिष्ठानको प्रयासलाई निरन्तरता दिन आग्रह गर्दै सँयोजक सिंहले आफुले सहयोगको लागि स्थानीय तहसँग समन्वय गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
डोटेली साहित्य प्रतिष्ठानका अध्यक्ष गीता स्मृति कठायतको अध्यक्षता तथा सचिब सरिता कठायतको सँचालनमा सम्पन्न उक्त “डोटी महफिल” कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसिंह खड्काले साहित्यकारहरुले जनतामा उत्साह थप्ने रचना लेख्नु पर्ने बिचार व्यक्त गर्नु भयो ।
नगर प्रमुख खड्काले स्थानीय भाषा, सँस्कृति कला साहित्यको सँरक्षण गर्ने जिम्मेवारी स्थानीय सरकारको पनि भएको बताउदै यस्ता रचनात्मक कामको लागि दिपायल सिलगढी नगरपालिकाको ढोका सधै खुल्ला रहेको बताउनु भयो ।
साहित्यकार अमर खड्काको सहजिकरणमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकारहरु जनक रसिक, तारा पल्लबी, तपेन्द्र घोडासैनी र गोपाल सुचिकारले गजल तथा डेउडा रचना बाचन गरेका थिए । यसै गरि उक्त कार्यक्रममा स्थानीय साहित्यप्रेमीहरुले पनि डेउडा, गजल, मुक्तक लगायत साहित्यिक रचना बाचन गरेका थिए । उक्त कार्यक्रमको सहजिकरण सागर बिश्वकर्माले गरेका थिए ।
कार्यक्रममा सहभागि युवा साहित्यकारहरुलाई मायाको चिनो तथा प्रतिष्ठानको आजिवन सदस्यताको प्रमाण पत्र बितरण गरिएको थियो ।