खप्तडको पर्यटन बिकास गर्नसके सुदूरपश्चिमको आर्थिक सम्बृद्धिमा टेवा पुग्छ ः पृतनापति बिजय थापा

गणेश मौनी 

सिलगढी

नेपाली सेनाको सुदूरपश्चिम पृतना मुख्यालयका पृतनापति उपरथी बिजय थापाले खप्तड क्षेत्रको पर्यटन बिकास गर्नसके सुदूरपश्चिमको आर्थिक समृद्धिमा टेवा पुग्ने बताउनु भएको छ ।

यस बर्षको दशहरा मेलाको अवसरमा आयोजना गरिएको हाई अल्टिच्युडको म्याराथन लगायतका बिभिन्न कार्यक्रमको सिलगढीको टुडिखेलमा समापन गर्दै  उपरथी थापाले खप्तड सुदूरपश्चिमको प्रचुर पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएकाले खप्तडको पर्यटन बिकासको लागि सरकारले प्राथमिकता दिनु पर्ने कुरामा जोड दिनु भयो ।

खप्तडको पर्यटन प्रबद्र्धका लागि योजनाबद्ध रुपमा कार्यक्रम गरिनु पर्ने बताउदै उपराथी बिजय थापाले खप्तडको पर्यटन प्रबद्र्धनका लागि नेपाली सेनाको व्यवस्थापनमा गरिएको कार्यक्रमले नेपाली सेना र नागरिक बिचको सम्बन्ध थप सुदृढ भएको धारणा व्यक्त गर्नु भयो ।

सुदूरपश्चिममा पर्यटन बिकास गर्नका लागि साधना, सुस्वास्थ्य, समन्वय, सहकार्य र पर्यटकीय सम्भावनाको खोजी गर्नु पर्ने उपराथी थापाको भनाई थियो ।

यस बर्षको दशहरा मेलाको अवसरमा आयोजना गरिएको हाई अल्टिच्युडको म्याराथन प्रतियोगितामा पुरुषसँगै महिला धावकले देखाएको उत्कृष्ट प्रदर्शनले खप्तडसँगै खेल क्षेत्रको पनि प्रबद्र्धन भएको पृतनापति थापाले बताउनु भयो । समापन समारोहमा उपरथी थापाले खप्तड दशहरा मेलामा आयोजना गरिएको बिभिन्न प्रतियोगिताका खेलाडीहरुलाई नगद पुस्कार, मेडल र प्रमाण पत्र बितरण गर्नु भएको थियो ।

हरेक बर्ष दशहराको दिन खप्तड क्षेत्रमा लाग्ने गङ्गादशहरा मेलाको अवसरमा भलिबल, देउडा, घोडा दौड,  हाइ अल्टिच्युट म्याराथन लगायतका बिभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।  उक्त कार्यक्रमहरु नेपाली सेनाको व्यवस्थापनमा सुदूर पश्चिम खेलकुद परिषद् कैलाली र डोटी उद्योग वाणिज्य सँघ दिपायलले आयोजना गरेका थिए ।

Leave A Reply

Your email address will not be published.