घण्टेश्वर अनलाईन
सिलगढी
डिभिजन वन कार्यालय डोटीको आयोजनामा यस बर्षको विश्व वातारवरण दिवस सोमबार डोटीमा बृक्षारोपण गरि मनाईएको छ ।
‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने मूल नाराका साथ मनाईएको उक्त दिवसको अवसरमा शैलेश्वरी मन्दिर क्षेत्रमा बृक्षारोपण गर्नुका साथै मन्दिर परिसर सरसफाई गरिएको थियो ।
बृक्षारोपण तथा सरसफाई कार्यक्रम पश्चात आयोजना गरिएको समारोहमा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समितिका सँयोजक लक्ष्मणबहादुर सिंहले प्लास्टिक हाम्रो जीवनको अभिन्न अङ्ग बनिसकेकाले यसको उचित ब्यवस्थापन गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
बृक्षारोपण तथा सरसफाई कुनै दिवस बिशेषमा मात्र नभई नियमित रुपमा हुनु पर्ने बताउदै सँयोजक सिंहले आम सचेतिकरणको माध्यमबाट वातावरण सँरक्षणमा समुदायको सहभागिता बृद्धि गर्नु पर्ने बताउनु भयो ।
यसै गरि डिभिजन वन कार्यालय डोटीका प्रमुख रामचन्द्र पौडेलले प्लाष्टिकजन्य प्रदूषण मात्र रोक्न सकियो भने वातावरण सँरक्षणमा निकै ठूलो सहयोग पुग्ने धारणा राख्नु भयो ।