डोटीका सार्बजनिक स्थलहरुमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न नपाईने

गणेश मौनी

सिलगढी, डोटी
डोटी जिल्लाका सार्बजनिक स्थलहरुमा अब देखि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न नपाईने भएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षतामा मँगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले उक्त निर्णय गरेको हो ।
सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐन २०६८ मा भएका ब्यवस्थालाई कार्यान्वयन गर्दै धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न नपाईने निर्णयलाई कार्यान्वयन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।
सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ४ बमोजिम सार्बजनिक स्थहरुमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न नपाईने ब्यवस्था रहेको छ । उक्त ब्यवस्थालाई कार्यान्वयन गर्दै कसैले उक्त निर्णय बिपरित सेवन गरेको पाईएमा कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनु भयो ।
सरोकारवालाहरुको बैठकले डोटीका सार्बजनिक स्थलहरुमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न नपाईने, होटल तथा रेष्टुरेन्टले पनि अन्य ब्यक्तिलाई प्रतिकुल असर नपर्ने गरि धुम्रपान तथा सुर्ति सेवन गर्न निश्चित स्थानको ब्यवस्था गर्नुपर्ने, डोटी जिल्लाका बिभिन्न स्थानमा राखिएका सुर्तिजन्य पदार्थ सम्बन्धि बिज्ञापन होडिङ बोर्डहरु स्थानीय सरकारले सरोकारवाला निकायहरुसंग समन्वय गरि हटाउनु पर्ने लगायतका निर्णयहरु गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।
उक्त बैठकलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले स्थानीय सरकारहरुले सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐनलाई कार्यान्वयन गर्न व्यापक जनचेतनाको खाँचो रहेको बताउनु भयो । प्रमुख सिंहले ऐनलाई कार्यान्वयन गर्नको लागि स्थानीय तहले पनि प्रभावकारी भूमिका खेल्नु पर्ने बताउदै त्यसका लागि सरोकारवालाहरु त्था आम डोटीबासीले सहयोग गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय डोटीका तर्फबाट सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी कानुनी ब्यवस्थाका बारेमा जानकारी गराईएको थियो ।

Leave A Reply

Your email address will not be published.