डोटीलाई साक्षर जिल्ला घोषणा ः नागरिक शिक्षालाई निरन्तरता दिनु पर्ने कुरामा जोड

घण्टेश्वर अनलाईन
सिलगढी, डोटी
डोटी जिल्लालाई आज सिलगढीमा आयोजना गरिएको एक कार्यक्रमका बीच साक्षर जिल्ला घोषणा गरिएको छ । साक्षर जिल्ला घोषणा गर्नका लागि आबश्यक पर्ने १२ वटा सूचकहरु पूरा भएको पाईएपछि डोटीलाई ६३ औं साक्षर जिल्लाको रुपमा घोषणा गरिएको हो ।
ब्यक्ति साक्षर हुनका लागि निर्धारण गरिएका बिभिन्न १२ वटा सूचकहरु मध्य कम्तीमा पनि ६ वटा सूचकहरु पूरा भएको हुनु पर्छ । डोटी जिल्लामा रहेका १५ देखि ६० वर्ष उमेर समूहका ९६ दशमलव ५५ प्रतिशत (एक लाख ३९ हजार एक सय ६१) नागरिक साक्षर भएको पाईएपछि डोटीलाई साक्षर जिल्ला घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्रमुख रामदत्त भट्टले जानकारी दिनु भयो ।
प्रमुख भट्टका अनुसार डोटी जिल्लालाई २०७६ साल भित्र साक्षर जिल्ला घोषणा गर्ने लक्ष्य राखिएको भएपनि कोरोना महामारीका कारण घोषणा ढिलो भएको हो ।
डोटी जिल्लालाई साक्षर जिल्ला घोषणा गर्दै उच्च अदालत दिपायलका मुख्य न्यायाधिश नृपध्वज निरौलाले ब्यक्ति साक्षर भएपछि समाजमा हुने विभिन्न आपराधिक घटना न्यूनिकरण गर्न सहयोग पुग्ने बिचार व्यक्त गर्नु भयो ।
समाजमा शिक्षाको कमिले गर्दा विभिन्न सामाजिक समस्याहरु, अपराधिक घट्नाहरु ह्ुने गरेको बताउदै मुख्य न्यायाधिश निरौलाले समुदायमा औपचारिक तथा अनौपचारिक सिकाइका कार्यक्रमहरु तथा नागरिक शिक्षाका कार्यक्रमलाई लाई निरन्तारता दिनु पर्ने कुरामा जोड दिनु भयो । राष्ट्रले सन २०३० सम्ममा कानुनी शासनको प्रवद्र्धन गर्ने र न्यायमा समान पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेकाले यो अभियानलाई सफल बनाउन सबैको सहयोग हुनु पर्ने आबश्यकता औंल्याउनु भयो ।
घोषणा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले साक्षर जिल्ला घोषणा गर्नका लागि आबश्यक सूचकहरु पूरा गरिएको दावी गर्नु भयो । हामीले व्यक्ति साक्षर, वडा , स्थानीय तहलाई साक्षर घोषणा गरेर जिल्लालाई साक्षर घोषणा गरिएको जानकारी दिनु भयो ।
यसैगरि दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसिंह खड्काले कतिपय बिपन्न समुदायमा साक्षरता नभएको बेला गरिएको घोषणाले प्रश्न चिन्ह खडा गर्ने बताउदै साक्षर घोषणा गरिसकेपछि पनि समुदाय स्तरमा साक्षरताका गतिबिधिहरुलाई निरन्तरता राख्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले जिल्लालाई साक्षर घोषणा गरिसकेपछि असल नागरिकका काम कर्तव्य र भूमिकाका बारेमा पनि सचेतिकरण गर्नु पर्ने कुरामा जोड दिएका थिए ।
डोटी जिल्लाका बिभिन्न स्थानीय तहका प्रमुख तथा उप प्रमुखहरु, सरकारी तथा गैरसरकारी सँस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा जिल्ला साक्षर घोषणाको लागि सहयोग गर्ने ब्यक्ति तथा सँस्थाहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.