जोरायलका वडा अध्यक्ष बोहराको गाउँ छाउपडी गोठमुक्त
कबिराम डाँगी
जोरायल
जोरायल गाउँ पालिका वडा नं. ६ का वडा अध्यक्ष गणेश बोहराको घररहेकोे बगिडा गाउँ छाउपडी गोठमुक्त भएको छ । जोरायल गाउँ पालिकाका उपाध्यक्ष जमूना बोहराले बगिडा गाउँमा आयोजना गरिएको एक कार्यक्रमका बीचमा छाउपडी गोठमुक्त घोषणा गर्नु भएको हो ।
आफु निर्बाचित भईसकेपछि वडा अध्यक्ष बोहराले बिकासको अवरोधको रुपमा छाउपडी प्रथा, महिला बिरुद्ध हुने घरेलु हिंसा, बालविवाहको अन्त्य गर्न पहल गर्दै आएका छन । परिबर्तन आफुबाट शुरु गर्नुपर्छ भनेर देखाउन पहिले आफ्नो गाउँलाई छाउपडी गोठमुक्त घोषणा गरिएको वडा अध्यक्ष बोहराले बताउनु भयो ।
बगिडा गाउँलाई छाउपडी गोठमुक्त घोषणा गरिए पछि स्थानीयले नाचगान गरेर खुशीयाली मनाएका थिए ।
बगिडा गाउँलाई छाउपडी गोठमुक्त घोषणा गर्दै जोरायल गाउँपालिकाका उपाध्यक्ष जमूना बोहराले बगिडा गाउँ जोरायल गाउँपालिकाको पहिलो छाउपडी गोठमुक्त गाउँ भएकोमा बधाई दिदै यो अभियानलाई ६ वटै वडामा बिस्तार गरेर गाउँपालिकालाई छाउपडी गोठमुक्त बनाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै जोरायल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशदत्त भट्टले बगिडा गाउँबाट शुरु भएको छाउपडी गोठमुक्त अभियान गाउँपालिकाका ६ वटै वडामा पुग्नु पर्ने र त्यसका लागि गाउँपालिकाबाट आबश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
यसैगरि कार्यक्रममा बोल्दै वडा अध्यक्ष गणेश बोहराले आफुले भौतिक बिकासका साथै चेतनाको बिकासलाई पनि प्राथमिकता दिएको बताउदै छाउपडी प्रथा, महिला बिरुद्ध हुने घरेलु हिंसा, बाल बिबाहको अन्त्य, धुम्रपान तथा मद्यपान बिरुद्धको अभियानलाई निरन्तर सन्चालन गरिने जानकारी दिनु भयो ।
छाउपडी गोठमुक्त घोषणा कार्यक्रममा जोरायल गाउँपालिकाका योजना अधिकृत चन्द्रसिंह ऐडी, वडा सदस्य यज्ञत्रहादुर साउँद, खेम साउँद, सामुदायिक बिकास मन्चका गिरिराज पाठक र करन साउँद, जोरायल गाउँ पालिका बहुक्षेत्रीय पोषण कार्यक्रमकी मिना खत्री लगायतको उपस्थिती रहेको थियो ।