
घण्टेश्वर अनलाईन
बोगटान, डोटी
बोगटान फुड्सिल गाउँपालिकाका १० जना शिक्षकहरु सम्मानित भएका छन । बोगटान फुड्सिल गाउँ पालिकाले बिभिन्न मापदण्ड बनाएर उत्कृष्ट काम गर्ने १० शिक्षकहरुलाई सम्मानको लागि छनौट गरेको थियो ।
हामीले गाउँ पालिकामा शिक्षाको गुणस्तरमा सुधार गर्न शिक्षकहरुलाई प्रोत्साहान गर्न सम्मान गरेका हौं । मुल्याँकन गर्दा विद्यालयमा शैक्षिक सुधारमा भूमिका, विद्यालयमा अनुशासन कायम गर्ने गराउने, कार्य सम्पादन मूल्याङ्कन, लगनशीलता ज्येष्ठताका आधार मानिएको शिक्षा शाखा प्रमुख चेतराज बिनाडीले बताउनु भयो ।
बोगटान गाउँ पालिकाको अध्यक्षसँग शिक्षक कार्यक्रम अन्तरगत सम्मानित हुने शिक्षकहरूमा सिमचौर माध्यमिक विद्यालयका केशवसिंह बम, केदारअखडा माध्यमिक विद्यालयका गुमानसिंह बोहरा, भगवतेश्वर मावि कानाचौरका अम्मरबहादुर विष्ट, छडाल आधारभूत विद्यालयका मदन बुढा, जोराघाट माध्यमिक विद्यालयका लोकराज बिनाडी, ओवादेउ आधारभूत विद्यालयका टेकबहादुर बोहरा, भवानी आधारभूत विद्यालय गगुडा पलाडीका यशोदा खड्का, गुरुदेव आधारभूत विद्यालयका दिर्घराज जोशी, सउँटीमाण्डौं आधारभूत विद्यालय सुकाटीका दुर्गा मल्ल बम र देवस्थल आधारभूत विद्यालय सिमचौरका सेवानिबृत्त शिक्षक गङ्गाप्रसाद यादब रहेका छन ।
बोगटान फुड्सिल गाउँ पालिका शिक्षा शाखाद्वारा बुधबार आयोजना गरिएको उत्कृष्ट शिक्षक सम्मान कार्यक्रममा बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिला, उपाध्यक्ष बिष्नादेबी बमले शिक्षकहरुलाई सम्मान प्रदान गर्नु भएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै बोगटान फुड्सिल गाउँ पालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले शिक्षाको गुणस्तर सुधार भए मात्र योग्य र असल नागरिक उत्पादन हुने तथा सभ्य समाज निर्माण हुने भएकाले गाउँ पालिकाले बिभिन्न कार्यक्रमको माध्यमबाट शिक्षाको गुणस्तर सुधारमा जोड दिएको बताउनु भयो ।