शिक्षामा सुधार ल्याउन डोटीमा असल अभ्यास आदान प्रदान कार्यक्रम

घण्टेश्वर अनलाईन
सिलगढी
शिक्षाको गुणस्तर सुधारको लागि डोटीमा पहिलो पटक अन्तर बिद्यालय असल अभ्यास आदान प्रदानको अभ्यास थालिएको छ । दिपायल सिलगढी नगरपालिकाको सहयोगमा पद्म पब्लिक मुक्तिनारायाण माद्यमिक बिद्यालय सिलगढीले असल अभ्यास आदान प्रदान गर्ने अभ्यास शुरु गरेको हो ।
पद्म पब्लिक माद्यमिक बिद्यालय सिलगढीद्वारा बुधबार आयोजना गरिएको असल अभ्यास आदान प्रदान कार्यक्रममा सहभागि बिद्यालयका प्रतिनिधीहरुले अन्तर बिद्यालयहरुले असल अभ्यासलाई एक आपसमा आदान प्रदान गरेमा शिक्षाको गुणस्तर सुधारमा मद्दत पुग्ने धारणा ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसिंह खड्काले नगर क्षेत्रमा शिक्षाको गुणस्तर सुधार गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भयो । नगरपालिका क्षेत्रका बिद्यालयहरुले एकआपसमा आफुले गरेका असल अभ्यास तथा सिकाईलाई आदान प्रदान गर्न सकेमात्र सुधारका लागि महत्वपूर्ण टेवा पुग्न सक्ने मेयर खड्काको भनाई थियो ।
नगरपालिकामा शिक्षा क्षेत्रमा दर्जनौं समस्याहरु रहेका छन । हामी सबैले एकआपसमा सहकार्य गरेर सामाधान गर्नु पर्छ । असल अभ्यासको आदान प्रदान पनि शिक्षा क्षेत्रमा रहेका समस्या सामाधान गर्ने एउटा महत्वपूर्ण उपाय भएकाले नगर पालिकाले यसलाई निरन्तरता दिन खोजेको खड्काले बताउनु भयो ।
असल अभ्यास आदान प्रदान कार्यक्रममा सहभागि बिद्यालयहरुले आफुले शुरु गरेका असल अभ्यास र प्रमुख समस्याहरु आदान प्रदान गरेका थिए । सहभागि शिक्षक, बिद्यालय व्यवस्थापन समिति तथा सरोकारवालाहरुले कार्यक्रममा प्रस्तुत गरिएका असल अभ्यासहरु महत्वपूर्ण रहेकाले सबैले अबलम्बन गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रममा पद्म पब्लिक विद्यालयका प्रधानाध्यापक केशव ओझाले आफ्नो विद्यालयले शुरु गरेका असल अभ्यासको बारेमा प्रस्तुत गर्दै पद्म पब्लिक माद्यमिक बिद्यालयले शिक्षक र विद्यार्थीको उपस्थितीलाई व्यवस्थापन गर्न ई हाजिरीको व्यवस्था गरेको, दिनको दुईपटक विद्यार्थीको हाजिरी गर्ने गरेको, शिक्षकहरुको पनि प्रत्येक दिनको हाजिरी फाइलिङ गर्ने गरिएको, विद्यालयमा विद्यार्थी लग बुकको व्यवस्था रहेका, विद्यार्थी लक बुक मार्फत प्रत्येक शिक्षकको मूल्याङ्कन विद्यार्थीले गर्ने र त्यसैका आधारमा महिनाको मसान्तमा समिक्षा गर्ने गरेको ओझाले जानकारी दिनु भयो ।
यसैगरि दुर्गा माद्यमिक विद्यालय पाकरीका प्रधानाध्यापक हिक्मत घलेले आफुले हालैमात्र माद्यमिक तहको पठनपाठन शुरु गरेकाले असल अभ्यास आदान प्रदान कार्यक्रम आफ्नो लागि निकै उपयोगी भएको धारणा व्यक्त गर्नु भयो ।
आफ्नो बिद्यालयको असल अभ्यास प्रस्तुत गर्दै अम्मर ज्योति बोर्डिङ स्कुल दिपायलका प्रधानाध्यापक मुकेश भट्टले सामुदायिक विद्यालय र संस्थागत विद्यालय एकआपसमा सहकार्य गरेर शिक्षाको गुणस्तर सुधार गर्न सहयोग गर्नु पर्ने बताउनु भयो ।
उक्त असल अभ्यास आदान प्रदान कार्यक्रममा नगरभित्रका विभिन्न माद्यमिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहितका सरोकारवालाको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.