घण्टेश्वर अनलाईन
दिपायल
सम बिकास केन्द्र डोटीद्वारा आयोजना गरिएको पाँच दिने बाल केन्द्रित सिकाई तालिम शुक्रबार देखि दिपायलमा शुरु भएको छ । उक्त तालिममा सम बिकास केन्द्र डोटीको स्थानीय अधिकार परियोजना सन्चालित के.आई.सिंह गाउँपालिका, दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाका २० जना शिक्षकहरुको सहभागिता रहेको छ ।
सिकाई प्रकृयालाई बाल केन्द्रित बनाउन स्थानीय स्तरमा शिक्षण सामग्री उत्पादन र प्रयोग गर्न क्षमता अभिबृद्धि गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको परियोजनाका सँयोजक नरेन्द्रबहादुर बिकले बताउनु भयो ।
उक्त तालिमको उद्घाटन गर्दै दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसिंह खड्काले शिक्षण प्रकृयालाई बालकेन्द्रित बनाउन सके सिकाई प्रकृयालाई उपलब्धीमूलक बनाउन सकिने धारणा ब्यक्त गर्नु भयो ।
एउटा शिक्षकको सिक्ने कुरा कहिल्यै पनि नसकिने बताउदै मेयर खड्काले शिक्षकले आफ्नो सीप, क्षमता अभिबृद्धि गर्दै ईमान्दारिताका साथ काम गरेमा समुदायमा सभ्य नागरिक उत्पादन हुने बताउनु भयो ।
कार्यक्रममा बोल्दै सम बिकास केन्द्र डोटीका अध्यक्ष अधिराज बिसिले स्थानीय अधिकार परियोजना मार्फत शिक्षाको गुणस्तर सुधारको लागि बिभिन्न कार्यक्रम गरिरहेको जानकारी दिनु भयो । तालिममा प्रशिक्षक राजेन्द्र पोखरेलले सहजिकरण गरिरहनु भएको छ ।