घण्टेश्वर अनलाईन
दिपायल
डोटी जिल्लाको शिखर नगरपालिका र सायल नगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत खटाईएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतका उपसचिव श्रीधर गौतमको शिखर नगरपालिका डोटीमा र शाखा अधिकृत सितल सिंह उखेडा सायल गाउँपालिकामा सरुवा गरेको हो ।
मन्त्रालयले तीन वर्ष बढी अवधि भएका १४ उपसचिव र ८ शाखा अधिकृतको सरुवा गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले पूर्ब घोषणा अनुसार पहुँच र शक्तिको आडमा सिंहदरबार वरीपरीका कार्यालयमा मात्रै कार्यरत कर्मचारीलाई दुर्गमका स्थानीय तहमा खटाउन थाल्ने क्रममा उनीहरुको सरुवा भएको हो ।
सरुवाको विद्यमान विकृति हटाउनका लागि आवश्यक सुझाव दिन भन्दै मन्त्री मोदीले २०८० जेठ २९ गते सरुवा व्यवस्थापन कार्यदल गठन गरेका थिए । उनले उक्त कार्यदलले बुझाएको प्रतिवेदनमा समाविष्ट सुझाव कार्यान्वयन गर्न थालेका छन् ।
यसअघिदेखि नै मन्त्री मोदीले पहुँच नभएकै कारणले विकटको विकट क्षेत्रमा रहिरहनुपर्ने कर्मचारीको बाध्यता अन्त्य गर्ने बताउँदै आएका छन् । मन्त्री मोदीले निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउनेदेखि मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने स्थानीय तहको खाता रोक्का समेत गरेका थिए ।