भैरव प्रसाद गण डोटीका गणपति जनमत कार्कीलाई दिपायलमा नागरिक अभिनन्दन

घण्टेश्वर अनलाईन
दिपायल
नेपाली सेनाको जनसम्पर्क नेपाल प्रहरीको जस्तो प्रत्यक्ष रुपमा हुँदैन । नेपाली सेना आबश्यकता पर्दा मात्र बाहिर निस्किन्छ । अरु समयमा सेना व्यारेक भित्र रहन्छन भन्ने आम बुझाई पाईन्छ । तर नेपाली सेनाको भैरव प्रसाद गण सिलगढीका गणपति जनमत कार्कीले त्यो बुझाईलाई परिबर्तन गरि दिएका छन ।
डोटी बसाईको १५ महिनाको अबधिमा गणपति प्रमुख सेनानी जनमत कार्की डोटेली जनताको बीचमा बसेर जनताको मन जित्न सफल भए । नेपाली सेना पनि नेपाल प्रहरी जस्तो जनताको साथी हो भन्ने स्थापित गराए । शनिबार दिपायलमा आयोजना गरिएको बिदाई तथा नागरिक अभिनन्दन कार्यक्रममा बोल्ने बक्ताहरुले गणपति कार्कीले डोटीका लागि दिएको योगदानको मुक्तकण्ठले प्रशँसा गरेका गरे ।
हामीले गणपति कार्कीलाई ब्यारेक भन्दा पनि अधिकाँश समय जनताका बीचमा पायौं । कहिले वालवालिकाका बीचमा, कहिले युवा तथा खेलाडीको बीचमा, कहिले बिद्यार्थीका बीचमा र कहिले समुदायका बीचमा । जहिल्यै डोटीको बिकासको कुरा, युवाहरुलाई सहि बाटोमा डोर्याउने कुरा गर्नु हुन्थ्यो, कार्की सरुवा भएर गएपनि जनताको मनबाट सधैं बस्न सफल हुनु भयो, डोटी उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन कलेलले नागरिक अभिनन्दन कार्यक्रममा भन्नु भयो ।
अभिनन्दन कार्यक्रमका प्रमुख अतिथी तथा बोगटान फुडसिल गाउँपालिका अध्यक्ष कमल गडसिलाले गणपति कार्कीसँगको सङ्गतबाट आफुले दर्जनौं कुरा सिकेको धारणा व्यक्त गर्नु भयो । प्रमुख सेनानी कार्की डोटी बसाईका क्रममा बिकट गाउँ बस्तीमा पुगेर जनतालाई प्रेरणा दिनुका साथै जनप्रतिनिधिहरुलाई पनि थोरै लगानीबाट पनि ठूला परियोजना व्यवस्थापन गर्न सकिन्छ भन्ने जानकारी पाएको अध्यक्ष गड्सिलाको भनाई थियो ।
गणपति कार्कीले डोटी बसाईका क्रममा शैलेश्वरी–खप्तड हाईअल्टीच्यूट म्याराथन प्रतियोगिता दुई वटा सिरिजको अवधारणा निकालेर कार्यान्वयनमा समेत महत्वपूर्ण भूमिका खेलेका थिए । यसका अतिरिक्त नागरिक समाजसँगको सहकार्यमा विभिन्न विद्याका दर्जनौँ खेलकुद प्रतियोगिता, बोगटान फुड्सिल गाउँ पालिकाको चवराचौतारामा हेलिप्याड निर्माणमा सहयोग, सांस्कृतिक गतिविधि, शिक्षा, स्वास्थ्य क्षेत्रमा जनचेतनामूलक कार्यक्रम तथा पूर्वाधार विकास निर्माणमा महत्वपूर्ण योगदान पुर्याई जिल्ला सदरमुकाममा चहलपहल बढाउन उल्लेख्य भूमिका खेलेको अभिनन्दन कार्यक्रममा प्रशँसा गरिएको थियो ।
यसरी नागरिक समाजको तर्फबाट अभिनन्दन हुने गणपति कार्की सम्भवत पहिलो व्यक्ति हुन् । गणपति कार्की डोटी बसाईका क्रममा उदाहरणिय कार्य गरेर सधैं समाचारको बिषय बन्नु भयो, कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष मोहन शाहीले बताए ।
नागरिक अभिनन्दन कार्यक्रम डोटी उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, डोटी च्याम्बर अफ कमर्स, गैर सरकारी संस्था महासंघ नेपाल, शैलेश्वरी डोटी सार्वजनिक यातायात प्राली, होटेल व्यवसायी संघ लगायतका नागरिक संस्थाहरुले संयुक्त रूपमा आयोजना गरेका थिए । कार्यक्रममा आयोजक सँस्थाहरुले मायाको चिनो, कदर पत्र, खादा, माला एवम् दोसल्ला ओढाएर गणपति कार्कीलाई अभिनन्दन गरेका थिए ।
यसैगरि शनिबार नै सिलगढी स्थित सिलगाउँमा पनि गणपति कार्कीलाई सम्मान गरिएको पत्रकार सुवास नेपालीले बताउनु भयो । सिलगाउँ स्थित दलित समुदायमा सचेतना अभिबृद्धि गर्नुका साथै दलित समुदायका युवाहरुलाई खेलकुद तथा साँस्कृतिक गतिबिधिमा सकृय बनाउन भूमिका खेलेकाले दलित समुदायका तर्फबाट गणपति कार्कीलाई बिदाई तथा सम्मान गरिएको हो ।

Leave A Reply

Your email address will not be published.