गौरा पर्बको आगमनसँगै जोरायलका गाउँबस्तीमा चहलपहल शुरु

कबिराम डाँगी
जोरायल, डोटी
सुदूरपश्चिम प्रदेशको मौलिक गौरा पर्ब शुरु भएको छ । सुदूरपश्चिमेलीले गौरादेबीलाई धुमधामका साथ भित्र्याएका छन । गौरा पर्ब शुुरु भएसँगै गाउँघरमा रौनकता छाएको छ ।
गौरा पर्बको आगमनसँगै जोरायल गाउँपालिकाका ६ वटै वडामा चहलपहल शुरु भएको छ । जोरायल गाउँ पालिकाको वडा नं. ३ सेलागाउँमा गौरापर्ब मेला शुरु भएको छ । गौरा पर्ब मेलाको अवसरमा गौरा खेल, डेउडा खेल, बिभिन्न स्थानीय तथा चर्चित कलाकारहरुद्वारा बिबिध प्रस्तुती गरिने मेला व्यवस्थापन समितिका अध्यक्ष चित्रराज अवस्थीले जानकारी दिनु भयो ।
सेलागाउँका अतिरिक्त जोरायल गाउँपालिकाको वडा नं. १ को खार बडाखेत, वडा नं. २ को बुडर, वडा नं. ४ को गोल्ला, फलेडी वडा नं. ५ को गड्सेराको बिभिन्न स्थान र वडा नं. ६ को गुनड लगायतका स्थानमा गौरा पर्ब धुमधामका साथ मनाउने गरिन्छ ।
गौरा पर्बको अवसरमा कामको लागि घर बाहिर गएकाहरु पनि घर फर्केका छन । जोरायलका गाउँबस्तीहरुमा गौराका खेलहरु लागिरहेका छन । साथमा सुदूरपश्चिमको प्रसिद्ध डेउडा खेल पनि भईरहेका छन । गाउँबस्तीमा आयोजना भईरहेका गौरा कार्यक्रमलाई शान्तिपूर्ण बनाउनका लागि स्थानीय निकाय तथा प्रहरी प्रशासनको तर्फबाट सहयोग र समन्वय भईरहेको जोरायल गाउँ पालिकाले जनाएको छ ।
भाद्र कृष्ण पञ्चमी तिथिबाट शुरू हुने यो पर्वको पहिलो दिन बिरुडा (पाँच प्रकारका अन्न तथा दलहन) भिजाइन्छ । जसका लागि गौरा थापना हुने मुख्य घरमा छुट्टाछुट्टै घरबाट ल्याईएका पाँच प्रकारका अन्न तथा दलहन भिजाइने गरिन्छ ।
स्थानीय बुढापाकाका अनुसार पञ्चमी तिथीमा भिजाइने बिरुडालाई षष्ठी तिथीका दिन पखालेर पूजा गरिन्छ र प्रसाद तथा अक्षताका रुपमा प्रयोग गरिन्छ । विधि अनुसार नै सप्तमीका दिन गौरालाई खेतबाट गौराघर तथा मन्दिरसम्म भित्र्याईन्छ । सप्तमीका दिन साउँ (धान रोपेको खेतमा पाइने एक प्रकारको वनस्पति) सँगै गर्जो, तितेपाती, बलुलगायतका वनस्पतिबाट पार्वतीको प्रतिकको रुपमा गौराको मूर्ति बनाएर गौरालाई गौरा घर वा मन्दिरमा भित्र्याउने चलन छ ।
अष्टमीका दिन दुबोको पूजासहित गौरा र महेश्वरको विवाह गरिन्छ । गौरालाई अष्टमीका दिन पूजाआजा गर्दै, मांगल गानका साथमा नचाइन्छ । त्यसै क्रममा गौरालाई गौरा घरको आँगनमा ल्याएर राखिन्छ । त्यहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका गीतका साथमा नचाइने गरिन्छ । सप्तमीमा भित्र्याईएको गौरा प्रतिकलाई कम्तीमा पाँच रातसम्म राख्ने गरिन्छ ।
यसरी गौरा देवीको पूजाआजा गर्दा विवाहित महिलाले पतिको दीर्घायूका साथै घरमा सुख शान्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । यस पर्वमा महिलाले एक वर्षका लागि ‘दुब–धागो’ (धागोमा सात गाँठा बनाएको एक प्रकारको महिलाले लगाउने माला) लगाउने चलन छ ।

Leave A Reply

Your email address will not be published.