घण्टेश्वर अनलाईन
जोरायल
नेपाल सरकारबाट मासिक रुपमा उपलब्ध हुने बृद्धभत्ताको रकम जम्मा गरेर अक्षयकोष स्थापना गर्ने एक बयोबृद्धलाई शुक्रबार जोरायलमा छुट्टाछुट्टै कार्यक्रममा सम्मान गरिएको छ ।
जोरायल गाउँ पालिका वडा नं. ३ स्थित १०२ बर्षिय बयोबृद्ध रघुनाथ जोशीले आफ्नो र श्रीमतिको नामबाट “रघुनाथ तारा अक्षय कोष” स्थापना गरेकाले सम्मान गरिएको हो । बयोबृद्ध जोशीले बृद्धभत्ताको रकमबाट शिबपुर माबि र सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र जोरायलमा १÷१ लाख को छुट्टाछुट्टै अक्षय कोष स्थापना गरेका थिए ।
हाल धनगढी उपमहानगरपालिका वडा ८ कैलाली निवासी रघुनाथ जोशीको उमेर १०२ बर्ष र उनकी पत्नी तारादेबीको उमेर ९८ बर्ष रहेको छ । सम्मान कार्यक्रममा बोल्दै बयोबृद्ध जोशीले आफुले बृद्धभत्ताको रकम जम्मा गरि अक्षय कोष स्थापना गर्न सकेकोमा खुशी व्यक्त गर्नु भयो ।
बिद्यालय र स्वास्थ्य सँस्थामा स्थापना गरिएको “रघुनाथ तारा अक्षय कोष” बाट बार्षिक रुपमा प्राप्त हुने व्याज रकमबाट गरिब, विपन्न र असहायको सहयोगको लागि खर्च गर्न जोशीले आग्रह गर्नु भयो ।
जोशीलाई दोसल्ला ओढाएर सम्मान गर्दै जोरायल गाउँ पालिका वडा नं. ३ का वडा अध्यक्ष नविन ओझाले बयोबृद्ध समाज सेवी रघुनाथ जोशीले अक्षय कोष स्थापना गरेर युवा पुस्तालाई ठूलो पाठ सिकाएको धारणा ब्यक्त गर्नु भयो ।
अहिले पछिल्लो पुस्तालाई समाज सेवा, स्वयंसेवामा रुची पनि छैन । समय पनि छैन । ईच्छाशक्ति भयो भने सामाजिक काम गर्न उमेरले छेक्दैन भन्ने उदाहरण जोशीले दिनु भएको छ । युवा पुस्तालाई पाठ भएको छ, वडा अध्यक्ष ओझाले बताउनु भयो ।
उक्त सम्मान कार्यक्रममा पुर्व वडाध्यक्ष दिनेशकुमार मल्ल, प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर अजय यादब, जोशीका छोराहरु पुष्पराज जोशी र गङ्गाराम जोशी, स्थानिय समाजसेवी डिल्लीराज जोशी, लक्ष्मण जोशी लगायत स्थानियको उपस्थिती रहेको थियो ।