जोरायलका शिक्षाप्रेमी जोशीद्वारा छोराको जन्म दिनमा दुईवटा अक्षय कोषको स्थापना

All time tax

घण्टेश्वर अनलाईन
जोरायल
आफ्नो छोराको जन्म दिनको अवसर पारेर डोटी जोरायलका एक जोशी परिवारले दुईवटा अक्षय कोष स्थापना गरेका छन ।
जोरायल गाउँ पालिका वडा नं. ३ बरम निवासी शिक्षाप्रेमी ७० बर्षिय ईश्वरीदत्त जोशीले आफ्ना छोरा केशब जोशीको ३३ औं जन्म दिनको अवसर पारेर स्थानीय शिबपुर माबि चनकट्टे र प्राथमिक स्वास्थ्य केन्द्र, चनकट्टेमा छुट्टाछुट्टै अक्षय कोष स्थापना गरेका हुन ।
शिबपुर माबि चनकट्टेमा स्थापना गरिएको “ईश्वरी गणेश पशुपति विद्यालय हित अक्षयकोष” को राशी १ लाख ५ हजार रहेको छ भने प्राथमिक स्वास्थ्य केन्द्र चनकट्टेमा स्थापना गरिएको “ईश्वरी गणेश पशुपति स्वास्थ्य कल्याणकारी अक्षय कोष” को राशी पनि १ लाख ५ हजार रहेको छ ।
जोशी परिवारलाई दुबै संस्थाले सोमबार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि सम्मान समेत गरेका छन । शिबपुर माबि चनकट्टेमा आयोजना गरिएको सम्मान कार्यक्रममा बोल्दै जोशीले आफु र आफ्नो जेठो छोरो केशव जोशीले अध्ययन गरेको बिद्यालयमा अक्षय कोष स्थापना गर्न पाउँदा खुशी लागेको बताउनु भयो । सोही कार्यक्रममा जोशीले अक्षय कोषको लागि घोषणा गरेको रकम रु १ लाख ५ हजार बिद्यालयलाई हस्तान्तरण गर्नु भएको थियो ।
यसैगरि जोशीकी श्रीमति पशुपतिदेबी जोशीले महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा करिब ३० बर्ष सेवा गर्नु भएको थियो । आफुले ३० बर्ष महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गर्दा स्वास्थ्य क्षेत्रका समस्याहरु देखेको भोगेकाले आँशिक भएपनि राहात पुगोस भनेर प्राथमिक स्वास्थ्य केन्द्रमा अक्षय कोष स्थापना गरेको बताईन । सम्मान कार्यक्रममा जोरायल गाउँ पालिकाका उपाध्यक्ष जमूना बोहरा, वडा नं. ३ का वडा अध्यक्ष नविन ओझा, बिद्यालय निरिक्षक तेजबहादुर खत्री लगायतका बक्ताहरुले बोल्नु भएको थियो ।
यसअघि जोशीले गत बर्ष जोरायल गाउँपालिका – ४ बिनोडा स्थित बेताल आधारभूत विद्यालयमा आफ्ना स्वर्गिय बुवा धनन्जय जोशी र आमा अम्बादेवी जोशीको नाममा रु एक लाख पच्चीस हजार रकमको विद्यालय हित अक्षय कोषको स्थापना गरेका थिए ।

 

Leave A Reply

Your email address will not be published.