घण्टेश्वर अनलाईन
सिलगढी
नेकपा(माओवादी केन्द्र) ले सन्चालन गरेको तीन महिने अभियानमा डोटी खटिएका एक नेताको उपचारको क्रममा आज निधन भएको छ ।
नेकपा (माओवादी केन्द्र)का सुदूरपश्चिम प्रदेश उपाध्यक्ष कृष्ण बडुवालको उपचारको लागि नेपालगन्जबाट भारतको लखनउ लैजाने क्रममा निधन भएको हो ।
सो पार्टीका नेता छबि ओलीका अनुसार बडुवाल लामो समयदेखि मुटु सम्बन्धि समस्याबाट पीडित थिए । नेकपा (माओवादी केन्द्र) ले सन्चालन गरेको ३ महिने अभियानका क्रममा बुडवाललाई डोटीको जोरायल र बडिकेदार गाउँ पालिकाको ईन्चार्ज बनाएर पठाएको थियो ।
जोरायल र बडिकेदार गाउँ पालिकामा अभियानका क्रममा स्वास्थ्यमा समस्या देखिएपछि कैलाली फर्किएर उपचार गराईरहेका थिए । निमोनियाको समेत सँक्रमण देखिएपछि उपचारको लागि नेपालगन्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो । तर नेपालगन्जमा उपचार सम्भव नभएपछि थप उपचारको लागि लखनउ लैजाने क्रममा निधन भएको बताईएको छ ।
बडुवाल माओादी जनयुद्धका क्रममा लामो समय डोटी खटिएका थिए । अखिल(क्रान्तिकारी) को डोटी जिल्ला अध्यक्ष , केन्द्रिय सदस्य हुँदै नेकपा(माओवादी केन्द्र) को बिभिन्न कमिटीमा काम गर्दै हाल प्रदेश उपाध्यक्ष थिए । जनयुद्धमा बडुवालले सुर्खेत जेल समेत ब्रेक गरेका थिए ।
बि.सं. २०७१ सालमा भएको जोरायल बस दुर्घटनामा बडुवालले श्रीमति र छोरा गुमाएका थिए । परिवारका पाँच दाजुभाई मध्य कृष्ण बडुवाल काईला भाई हुन ।