घण्टेश्वर अनलाईन
जोरायल, डोटी
जोरायल गाउँ पालिका वडा नं. ६ को सुन्दर बस्ती गुनड गाउँमा पहिलो पटक बिजुली पुगेको छ । लामो समयपछिको प्रतिक्षा पछि गाउँमा बिजुली बलेपछि गुनडबासी अहिले दङ्ग छन् । जोरायल गाउँ पालिका ६ नम्बर वडा कार्यालय र नेपाल बिद्युत प्राधिकरणको पहलमा गुनड गाउँमा उज्यालो पुगेको हो ।
भौगोलिक रुपमा निकै सुन्दर बस्ती भएपनि गुनडका स्थानीय बासिन्दाहरु उज्यालोको लागि सल्लाको झरो, टुकी र सोलार प्रयोग गर्दथे । अहिले बिद्युत लाईन बिस्तार भएपछि स्थानीय बासिन्दामा खुशीयाली छाएको छ । बिद्युत लाईन बिस्तार भएपछि स्थानीय ७५ घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित भएका छन ।
गुनड गाउँले लामो समयपछि अँध्यारोबाट मुक्ति पाएको छ । गाउँमा बिजुलीको सुविधा नहुँदा वर्षाैंदेखि लालटिन, टुकी र सोलार बालेर रात बिताउने गरेका थियौँ’ । ढिलै भए पनि गाउँमा बिजुली पुगेको छ । गाउँ बस्ती झिलिमिली बनेको छ । गाउँमा बिजुली बलेपछि यस बर्षको दशैं तिहार पर्ब पनि उज्यालोको मनाउन पाएकोमा खुुशी लागेको गुनडका समाजसेवी श्याम साउँदले बताए ।
राष्ट्रिय प्रसारण लाईनको बिपि नगर स्थित सव स्टेशनबाट ११ केभि लाईन बिस्तार गर्ने क्रममा गुनडमा बिद्युत सेवा पुर्याईएको जोरायल गाउँ पालिका वडा नं. ६ का वडा अध्यक्ष गणेश बोहराले बताउनु भयो । गुनड गाउँबासीको प्रमुख माग नै बिजुली थियो’,वडाध्यक्ष बोहराले भने, नेपाल विद्युत् प्राधिकरणसँग पहल गरेर बिजुली ल्याउन सफल भएकोमा खुसी लागेको छ’ ।
अध्यक्ष बोहराका अनुसार वडा नं. ६ को गुनड सहित गावर, लमौते, सिर्सि जारिमघाट, ग्वानी, खसरे डाडागाउँ, सुनारी, होलेसैन, बसौटी र निरौली आधा गाउँमा बिजुली बाल्ने काम सम्पन्न भई सकेको र बगिडा, अरकट्टे, सिरोडासम्म बिजुली बाल्नको लागि शाखा तार पोल र बिद्युत ट्रान्सफर्मरको लागि पहल भई रहेको वडा कार्यालयले जनाएको छ । सित्तोली र खतेनामा लाईन बिस्तारको काम सम्पन्न भईसकेकाले दिपावली पछि बिजुली बाल्ने तयारी भई रहेको छ । यसै गरि बिद्युत लाईन बिस्तार हुन बाँकी रहेका दह चिमेतडा, तेलपारा, जडेपानी, दाङड खुरखुरेमा पोल तारको लागि नेपाल बिद्युत प्राधिकरणसँग पहल भईरहेको वडा अध्यक्ष बोहराले जानकारी दिनु भयो ।