घण्टेश्वर अनलाईन
दिपायल
डोटीको दिपायल निवासी एक एकल महिलालाई बुधबार अटो रिक्सा हस्तान्तरण गरिएको छ । दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसिंह खड्काले बुधबार आयोजना गरिएको एक कार्यक्रमका बीचमा दिपायल सिलगढी नगरपालिका वडा नं. ४ निवासी एकल महिला धनसरादेवी नेपालीलाई अटोरिक्साको चाँबी हस्तान्तरण गर्नु भयो ।
दिपायल सिलगढी नगरपालिकाको २ लाख र सम बिकास केन्द्र डोटीको ४ लाख गरि ६ लाखको लागतमा खरिद गरिएको उक्त अटो रिक्साको चाबी हस्तान्तरण गर्दै मेयर खड्काले एकल तथा सिमान्तकृत महिलाहरुलाई सीपमूलक तथा आय आर्जनका क्षेत्रमा सहयोग गर्न अटो रिक्सा हस्तान्तरण गरिएको बताउनु भयो । महिलाले पनि पुरुष सरह काम गर्न सक्छन भन्ने सन्देश प्रवाह गर्न यस कदमले सहयोग मेयर खड्काको भनाई थियो ।
एकल महिला धनसरादेबी नेपालीले अटो रिक्साको चाबी ग्रहण गर्दै आफुले अटो रिक्सा प्राप्त गरेकोमा खुशी व्यक्त गरिन । १३ बर्षअघि श्रीमान गुमाउँदा ज्याला मजदुरी गरेर चार सन्तानको पालन पोषण गर्दै आएको थिएँ । दिपायल सिलगढी नगर पालिकार सम बिकास केन्द्र डोटीको सहयोगमा अटो रिक्सा पाएपछि आफ्नो आत्मबल बढेको र जिबिकोपार्जनको लागि सहज भएको बताईन ।
धनसरालाई अटो रिक्सा हस्तान्तरण गर्नु अघि सम बिकास केन्द्र डोटीले धनसरा सहित ७ जना एकल तथा सिमान्तकृत महिलालाई अटो रिक्सा सवारी चालक अनुमतिका लागि एक महिने तालिम प्रदान गरेको थियो ।
एकल तथा सिमान्तकृत महिलाको आर्थिक सशक्तिकरणमा सहयोग गर्ने उद्देश्यले सम बिकास केन्द्र डोटीका कार्यकारी निर्देशक महेश त्रिखत्रीले जानकारी दिनु भयो । सम बिकास केन्द्र डोटीले एक्सनएड नेपालसँगको साझेदारीमा सन्चालित द महिला नेटवर्क परियोजना अन्तरगत एकल महिलालाई अटो रिक्सा खरिदमा सहयोग गरिएको सम बिकास केन्द्र डोटीले जनाएका छ ।
यसैगरि बिहिबार शिखर नगरपालिकामा पनि एक जना एकल महिलालाई अटो रिक्स हस्तान्तरण गर्ने योजना रहेको कार्यकारी निर्देशक त्रिखत्रीले बताउनु भयो । सम बिकास केन्द्र डोटीले एक्सन एड नेपालसँगको सहकार्यमा महिला सशक्तिकरण तथा आर्थिक सशक्तिकरणका लागि बिभिन्न कार्यक्रम सन्चालन गर्दै आएको छ ।