घण्टेश्वर अनलाईन
जोरायल, डोटी
डोटीको जोरायल गाउँ पालिका वडा नं. ६ मा बिस बर्ष उमेर पूरा भएपछि विवाह गर्ने एक जोडी सम्मानित भएका छन । यस बर्षको ११४ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारी २० बर्ष उमेर पुगेपछि विवाह गर्ने दम्पतिलाई शुक्रबार निरौलीको खसरेमा आयोजना गरिएको एक कार्यक्रममा सम्मानित गरिएको हो ।
जोरायल गाउँपालिका वडा नं. ६ सित्तोलीकी २६ बर्षिया कमला बोहराको जोडीलाई वडा अध्यक्ष गणेश बोहराले सम्मान गर्नु भएको थियो । कमलाको २६ बर्षको उमेरमा गत माघ ८ गते बैतडी मेलौली नगरपालिका ३ कुजागाड निवासी २६ बर्षिया माधव भाटसँग बिबाह भएको थियो । वडा कार्यालयले प्रकाशित गरेको सार्बजनिक सूचना अनुसार कमला बोहराको जोडीले मात्र सम्मानको लागि निबेदन दर्ता गरेको थियो । उक्त कार्यक्रमको लागि सामुदायिक बिकास मन्च डोटीले सहयोग गरेको थियो ।
‘बिहेबारी, बीस बर्ष पारी’ भन्ने सन्देशलाई समुदाय स्तरमा प्रवाह गर्न २० बर्ष उमेर पछि बिबाह गर्ने जोडीलाई सम्मानित गरिएको वडा अध्यक्ष गणेश बोहराले बताउनु भयो । समुदायमा अहिले पनि बाल बिबाह भईरहेका छन । २० बर्ष उमेर पुगेपछि मात्र बिबाह गर्नु पर्छ भन्ने सन्देश प्रवाह गर्न सकिएमा मात्र पनि बाल बिबाहमा कमी ल्याउन सकिन्छ, वडा अध्यक्ष बोहराको भनाई थियो ।
कार्यक्रममा सामुदायिक बिकास मन्चका परियोजना सँयोजक गिरीराज पाठकले बाल बिबाह हाम्रो समाजको प्रगतिको बाधक भएकाले ‘बिहेबारी, बीस बर्ष पारी’ भन्ने सन्देशलाई घरघर सम्म प्रवाह गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा सम्मानित हुने जोडीले पनि आफ्नो मन्तब्य राखेका थिए ।