घण्टेश्वर अनलाईन
बिपी नगर, डोटी
डोटीको दक्षिणी क्षेत्रमा पर्ने केदार ज्योतीपुन्ज बहुमुखी क्याम्पसमा १ कोठे भवन निर्माण हुने भएको छ । भारतीय राजदूतावासको २ करोड ३३ लाख ६५ हजार ७ सय ९४ र बडीकेदार गाउँपालिकाको ९५ लाख ९८ हजार ९० गरी जम्मा ३ करोड २९ लाख ६३ हजार ८ सय ८४ लागतमा उक्त भवन निर्माण हुन लागेको क्याम्पसले जनाएकोे छ ।
उक्त भवनको भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले सोमबार बिपीनगरमा आयोजना गरिएको एक कार्यक्रमका बीचमा शिलन्यास गर्नु भयो ।
शिलान्यास कार्यक्रममा बोल्दै द्वितीय सचिव सोनाले केदार ज्योतीपुन्ज बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण हुन लागेकोमा खुशी व्यक्त गर्दै भवन समयमा निर्माण गर्न सबै पक्षको सहयोग हुनु पर्ने कुरामा जोड दिनु भयो । नेपाल भारत दुई देश बीचको सम्बन्ध सधैं प्रगाढ रहेको चर्चा गर्दै सोनाले नेपाललाई बिभिन्न क्षेत्रमा दिदै आएको सहयोग निरन्तर जारी रहने बताउनु भयो ।
कार्यक्रममा बोल्दै डोटीका प्रदेश सभा सदस्य शिवसिंह ओलीले केदार ज्योतीपुन्ज बहुमुखी क्याम्पसलाई भौतिक मात्र नभएर शैक्षिक गुणस्तर समेत सुधार गरेर डोटी र कैलालीको साझा क्याम्पसका रुपमा बिकास गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
यस्तै जिल्ला समन्वय समिति डोटीका संयोजक लक्ष्मणबहादुर सिंहले केदार ज्योतीपुन्ज बहुमुखी क्याम्पसबाट दुर्गम क्षेत्रका बिद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित भई रहेको बताउदै क्याम्पसको शैक्षिक गुणस्तर सुधार गरि नमूना क्याम्पस बनाउनु पर्ने बताउनु भयो ।
कार्यक्रमका सभापति बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउँदले केदार ज्योतीपुन्ज बहुमुखी क्याम्पस गाउँ पालिका मात्र नभएर दक्षिणी क्षेत्रकै गौरव भएको बिचार व्यक्त गर्नु भयो ।