घण्टेश्वर अनलाईन
धनगढी
बिश्वासको मत नपाउने अवस्था देखिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँलाई राजिनामा बुझाएका हुन ।
मुख्यमन्त्री शाहले बिहिबार प्रदेशबाट बिश्वासको मत लिने तयारी गर्नु भएको थियो । दिउसो ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची थियो । बिश्वासको मतको वातावरण बनाउने क्रममा बैठक बेलुका ५ बजे सम्म सारिएको थियो । तर बिकसित राजनैतिक घट्नाक्रमबाट बहुमत नपाउने अवस्था देखिएपछि शाहले राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री शाह अन्तिम अवस्थामा नागरिक उन्मुक्ति पार्टी, राप्रपा र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको मत पाउने आशा सहित कसरतमा थिए । तर, नागरिक उन्मुक्ति पार्टीबाट पनि बिश्वासको मत प्राप्त नहुने र सोही कारण राप्रपा र स्वतन्त्र प्रदेश सभा सदस्यले पनि मत नदिने भनेपछि मुख्यमन्त्री शाहको प्रयास सफल हुन सकेन ।
सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसबाट १८ जना , नेकपा(माओवादी केन्द्र) बाट ११ जना, नेकपा(एमाले) बाट १० जना , नागरिक उन्मुक्ति पार्टीबाट ७ जना, नेकपा(एकीकृत समाजवादी) बाट ४ जना , राप्रपाबाट १ जना र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन् । सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको मत आवश्यक हुन्छ ।
माओवादी केन्द्र र एकीकृत समाजवादीले बिश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री शाहको सरकार अल्पमतमा परेका थियो । सरकारले कुनै पनि पार्टीको साथ गुमाएपछि सदनबाट ३० दिन भित्र विश्वासको मत लिनु पर्ने कानूनी व्यवस्था छ । मुख्यमन्त्री शाहले राजीनामा दिएपछि नयाँ गठबन्धनबाट प्रदेश सरकार गठनका लागि बाटो खुल्ला भएको छ ।
