सुदूरपश्चिममा नयाँ प्रदेश सरकार गठनको तयारी, नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी मुख्यमन्त्री बन्दै
घण्टेश्वर अनलाईन
धनगढी कैलाली
सुदूरपश्चिमका प्रदेश प्रमुख नाजिर मियाले वैशाख २ गतेसम्म संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमत जुटाएर सरकारमा दावी पेश गर्न आह्वान गरे पछि सत्ता गठबन्धन दलहरु नयाँ प्रदेश सरकार गठनको तयारी थालेका छन । सुदूरपश्चिममा निर्णायक शक्तिका रुपमा रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) को नेतृत्वमा नयाँ प्रदेश सरकार गठन गर्न सत्ता गठबन्धन दलहरु लगभग तयार रहेका छन । शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का कैलाश चौधरीले सत्ता गठबन्धन दलको समर्थन सहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने कार्यक्रम रहेको छ । कैलाश चौधरी पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ निकट मानिन्छन । सुदूरपश्चिममा मुख्यमन्त्री र भौतिक पूर्वाधार मन्त्रालय नागरिक उन्मुक्ति पार्टीलाई दिन उच्च स्तरमा समझदारी पनि भएको बताईएको छ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेता दामोदर पण्डितका अनुसार पहिलो कार्यकाल नाउपाले सुदूरपश्चिमको नेतृत्व गर्ने समझदारी भएको छ । तर सुदूर पश्चिममा कुन दलले कति समय नेतृत्व गर्ने भन्ने विषयमा समझदारी बनिसकेको छैन । ‘गठबन्धन दलहरूको आपसी समझदारीमा त्यो विषय टुंग्याइने छ ।’
५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ । माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ७ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन्। सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १८, राप्रपा र स्वतन्त्र सांसद एक/एकजना छन् ।
सत्ता गठबन्धन दलको समझदारी अनुसार सुदूरपश्चिममा नयाँ प्रदेश सरकार गठन भएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संघमा पनि एउटा मन्त्रालय पाउने छ । संघमा ४ सांसद रहेको सो पार्टीबाट पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ यस अघि मन्त्री बनेकी थिईन । यसपटक उनी मन्त्री नदोहोरिने बताउँदै आएकी छन् ।