घण्टेश्वर अनलाईन
जोरायल
यस बर्षको ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी जोरायल गाउँपालिका वडा नं. १ घण्टेश्वरमा शनिबार सचेतनामूलक वडास्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।
सम बिकास केन्द्र डोटीद्धारा सन्चालित परिबर्तन परियोजनाको आयोजनामा भएको उक्त बक्तृत्वकला प्रतियोगितामा सहभागि सुशासन पाठशालाका महिला सदस्यहरुले “महिला हिंसा र वर्तमान अवस्था” को बिषयमा आफ्नो बक्तृत्वकला मार्फत आफ्नो धारणा राखेका थिए । सहभागि महिलाहरुले समुदायमा महिला हिंसाको अवस्था बिद्यमान रहेकाले यसको अन्त्यको लागि पुरुषहरुले महिला हिंसालाई आफ्नो समस्याका रुपमा लिनु पर्ने कुरामा जोड दिएका थिए । महिला हिंसाको अन्त्यका लागि आम सचेतिकरण गर्नु पर्ने, स्थानीय सरकारले महिला हिंसाको अन्त्यका लागि अगुवाई गर्नु पर्ने, कानूनको पूर्ण कार्यान्वयन गरिनु पर्ने, महिला हिंसाको सवालमा बिद्यालय स्तरबाटै सचेतिकरण शुरु गरिनु पर्ने जस्ता बिषय उठाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी जोरायल गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष भजनसिंह मल्लले महिला हिंसा साझा समस्या भएकाले सबैले यसको अन्त्यका लागि लाग्नु पर्ने कुरा बताउनु भयो । वडाका सबै सचेत नागरिकहरु, सरोकारवालाहरुको सहयोग भएमा वडालाई महिला हिंसामुक्त बनाउन सकिने बताउदै यसको लागि आम सचेतिकरण आबश्यक रहेको खाँचो औंल्याउनु भयो ।
“सामाजिक न्याय र लैङ्गिक समानता – दिगो बिकासको सुनिश्चितता” भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त वक्तृत्वकला प्रतियोगितामा ६ वडा नागरिक समाज सँस्थाका ६४ जना महिला सदस्यहरु सहभागिता रहेकोमा ६ जना महिलाहरुले प्रतियोगितामा भाग लिएको सम बिकास केन्द्र डोटीद्धारा सन्चालित परिबर्तन परियोजनाका सूचना अधिकारी पदम मिजारले जानकारी दिनु भयो ।
प्रतियोगितामा नागरिक सचेतना सुशासन पाठशालाका लक्ष्मी ठगुन्ना प्रथम, पोषण हातेमालो सुशासन पाठशालाकी माया मल्ल दोश्रो र समैजी कृषक समूहका निर्मला ओली तृतीय भएका थिए । सहभागिहरुलाई प्रमुख अतिथी वडा अध्यक्ष भजनसिंह मल्लले पुरुस्कार तथा प्रमाण पत्र बितरण गर्नु भएको थियो ।