घण्टेश्वर अनलाईन
सिलगढी डोटी
जिल्लामा सार्बजनिक सेवालाई पारदर्शी र गुणस्तरीय बनाउनको लागि बागेश्वरी असल शासन क्लब (बास) डोटी शाखाले डोटीमा अभियान सँचालन गर्ने भएको छ । जिल्लामा सरकारी सेवा प्रवाह पारदर्शी र गुणस्तरीय नहुँदा भ्रष्टाचार तथा अनियमितता बढेको जनगुनासो आउन थालेपछि बागेश्वरी असल शासन क्लब (बास) डोटी शाखाले सचेतनामूलक तथा दवावमूलक अभियान सँचालन गर्न लागेको अध्यक्ष गणेश मौनीले जानकारी दिनु भयो ।
अभियान अन्तरगत सुशासन स्थापनाको लागि जनगुनासोका बारेमा सार्बजनिक सरोकारवाला निकायको ध्यानाकर्षण गराउने कार्यक्रम शुरु गरिएको छ । बागेश्वरी असल शासन क्लब (बास) डोटी शाखाले बुधबार सुशासनसँग सम्बन्धित बिभिन्न ११ बुँदे ध्यानाकर्षण पत्र डोटीका प्रमुख जिल्ला अधिकारी शँकरबहादुर बिष्टलाई बुझाएको छ ।
प्रमुख जिल्ल अधिकारीलाई बुझाईएको ध्यानाकर्षण पत्रमा सूचनाको हक सम्बन्धि ऐन२०६४ को पूर्ण कार्यान्वयन गर्नु पर्र्ने, स्थानीय तह तथा सबै कार्यालयहरुमा नागरिक बडापत्र र गुनासो पेटिकाको व्यवस्था गर्नुपर्ने, असल कार्य गर्ने कर्मचारीलाई पुरस्कृत र गलत कार्य गर्ने कर्मचारीलाई दण्डित गर्नुपर्ने, नियमित रुपमा नागरिकका गुनासाको सुनुवाई गर्नु पर्ने, सरकारी सवारी साधनहरुको दुरुपयोगमा नियन्त्रण गर्नुपर्ने, सरकारी सेवा प्रवाहलाई छिटो छरितो ढँगबाट प्रवाह गर्नु पर्ने लगायतका रहेका छन ।
उक्त ध्यानाकर्षण पत्र बुझ्दै डोटीका प्रमुख जिल्ल अधिकारी शँकरबहादुर बिष्टले जिल्लामा सुशासन स्थापनाको लागि जिल्ला प्रशासन कार्यालय प्रतिबद्ध रहेको बताउनु भयो । जिल्लामा सरकारी सेवालाई पारदर्शी र गुणस्तरीय बनाउनको लागि आफुले पहल गरिरहेको बताउदै ध्यानाकर्षण पत्रमा उल्लेख रहेका बिषयहरुलाई कार्यालय प्रमुखको बैठकमा छलफल गरिने बताउनु भयो । उक्त कार्यक्रममा बिभिन्न युवाहरु, पत्रकारहरु तथा नागरिक समाजका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
यसैगरि अभियान अन्तरगत (बास) डोटी शाखाले भ्रष्टाचार विरुद्ध मालपोत कार्यालय डोटीमा सचेतनामूलक बुधवार प्रदर्शन गरेको छ ।
उक्त कार्यक्रममा घुस लिन र दिन बन्द गरौं, भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गरौं, सेवाग्राहीलाई विभिन्न बहानामा नझुलाऔं, भ्रष्ट कर्मचारीलाई कारबाही गरौं जस्ता नारा लेखिएका पोस्टरहरू प्रर्दशन गरिएका थिए । उक्त कार्यक्रममा बास नेपालका डोटी अध्यक्ष गणेश मौनीले मालपोत कार्यालयसँग सम्बन्धित बिभिन्न सवाल तथा गुनासाहरु समेटिएका १० बुँदे ध्यानकर्षण पत्र बुझाएका थिए ।
मालपोत कार्यालय डोटीका कार्यालय प्रमुख प्रेमबहादुर माझीले ध्यानाकर्षण पत्र बुझ्दै मालपोत कार्यालयमा हुने भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीलाई नियन्त्रण गर्न र सेवालाई पारदर्शी र गुणस्तरीय बनाउन आफुले पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।