घण्टेश्वर अनलाईन
जोरायल, डोटी
जोरायल गाउँ पालिका वडा नं ४ स्थित महासरस्वती माबि देउथलामा ४ कोठे बिज्ञान प्रयोगशाला भवन निर्माण गरिएको छ । जोरायल गाउँ पालिकाको करिब ३६ लाख बजेटमा प्रयोगशाला भवन निर्माण भएपछि बिद्यालयको पठन पाठनमा सहज भएको बिद्यालयले जनाएको छ ।
उक्त चार कोठे बिज्ञान प्रयोगशाला भवनको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले हालै एक कार्यक्रमका बिचमा उद्घाटन गर्नु भएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर साउँदको अध्यक्षता तथा मेघबहादुर बोहराको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले आफुहरुले बिकट गाउँबस्तीबाट बिकासको शुरुवात गरेको दावी गर्नु भयो । बिगतका दिनमा बिकट गाउँबस्तीमा बिकास पुग्न नसक्दा जनतामा निराशा छाएको बताउदै अध्यक्ष ओझाले शिक्षा, स्वास्थ्य तथा रोजगारी जस्ता बिषयलाई गाउँपालिकाले प्राथमिकता दिएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै जोरायल गाउँपालिकाका उपाध्यक्ष जमूना बोहराले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको देउथलामा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको बताउदै आगामी दिनमा सुरक्षित प्रसुति केन्द्र स्थापना गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
जोरायल गाउँपालिका शिक्षा शाखा प्रमुख बिद्यालय निरिक्षक तेजबहादुर खत्रीले हाल सम्म महासरस्वती माबि देउथलामा करिब ५५ लाखको भौतिक सँरचना निर्माण गरिएको र माबि तहमा अँग्रेजी तथा बिज्ञान गणित बिषयको लागि शिक्षण सहयोग अनुदान उपलब्ध गराउदै आएको जानकारी दिनु भयो ।
कार्यक्रममा शिबपूर माबि चनकट्टेका प्रधानाध्यापक पदमराज उपाध्याय, निर्माण व्यवसायी बिरबहादुर दर्लामी, प्रहरी नायब निरिक्षक आनसिंह धनमी लगायतका बक्ताहरुले बोल्नु भएको थियो भने बिद्यालयका प्रधानाध्यापक यादबबहादुर खड्काले बिद्यालयका अबस्थाको आर्थिक, शैक्षिक अवस्थाको जानकारीका साथै निर्माण कार्यको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।