घण्टेश्वर अनलाईन
सायल, डोटी
डोटीको बिकट क्षेत्र छपालीमा पहिलो पटक बिद्युत सेवा पुगेको छ । साबिकको छपाली गाउँ बिकास समिति तथा हालको सायल गाउँ पालिका वडा नं. १ छपालीमा राष्ट्रिय प्रसारण लाईनबाट बिद्युत पुगेपछि स्थानीय बासिन्दाहरु हर्षित भएका छन ।
आईतबार छपालीको कौराडी गाउँमा ट्रान्सफर्मरमा बत्ती बालेर बिद्युत सेवाको उद्घाटन गरिएपछि स्थानीय बासिन्दाहरुले खुशीयाली मनाएका थिए । जिल्ला समन्वय समितिका सदस्य सगराम नेपाली, १ नम्बर वडाका जनप्रतिनिधीहरु, कर्मचारीहरु, नेपाल बिद्युत् प्राधिकरण दिपायल वितरण केन्द्रका इन्चार्ज शेरबहादुर कठायत, बिभिन्न राजनैतिक दलका प्रतिनिधी तथा स्थानीय बासिन्दाहरुको उपस्थितिमा वडा अध्यक्ष हिराबहादुर थापाले ट्रान्सफर्मरमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो ।
परापूर्बकाल देखि स्थानीय बासिन्दाहरु सल्लाको झरो, सोलारबाट उज्यालो बाल्दै आएका करिब २ सय कौराडीबासीहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको वडा कार्यालयका सहायक करन देउवाले बताउनु भयो । देउवाका अनुसार गत वर्षको चैत्रमा बत्ति बाल्ने योजना भएपनि प्राबिधिक कारणले ढिलो भएको हो ।
प्रारम्भमा कौराडी गाउँमा बिद्युत बाल्न सफल भएको बताउदै वडा नं. १ वडा अध्यक्ष हिरा थापाले वडाको केन्द्र तथा अन्य गाउँ बस्तीमा बिद्युत सेवा बिस्तार गरिने बताउनु भयो । बिद्युत लाईन बिस्तार गर्न पोल गाड्ने काम भईरहेको र लाईन बिस्तार गर्न टेण्डर भईसकेको थापाले जानकारी दिनु भयो ।