घण्टेश्वर अनलाईन
विपी नगर, डोटी
बडिकेदार गाउँपालिकामा औद्योगिक गुरुयोजना निर्माण तथा उद्योग स्थापनाका लागि सम्भाब्यता अध्ययन गरिने भएको छ । घरेलु तथा साना उद्योग कार्यालय दिपायलको सकृयतामा उक्त सम्भाव्यता अध्ययन गर्न लागिएको कार्यालय प्रमुख दिपेन्द्र शाहले बताउनु भयो ।
कार्यालय प्रमुख शाहका अनुसार बडिकेदार गाउँपालिका सडक सन्जालले पनि जोडिसकेको छ । अन्य स्थानीय तह भन्दा बडिकेदार गाउँपालिकामा गुरु योजना निर्माण गरेर उद्योग स्थापना गर्न सकिने सम्भावना धेरै रहेकाले पहल थालिएको हो ।
यसै सन्दर्भमा कार्यालयले औद्योगिक गुरुयोजना निर्माण तथा उद्योग स्थापनाका लागि सम्भाब्यता अध्ययन बिषयमा स्थानीय तहका सरोकारवालासँग अन्तरकृया गरेको छ । बडिकेदार गाउँपालिकाका जनप्रतिनिधीहरु, कर्मचारी, स्थानीय सरोकारवालाको सहभागिता रहेको उक्त अन्तरकृया कार्यक्रममा बडिकेदार गाउँपालिकामा उत्पादनको अवस्था, सम्भावना उपलब्ध साधन श्रोतको अवस्था, चुनौती लगायतका बिषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागिहरुले कृषि उद्यममा आधारित उद्योग स्थापनामा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बडिकेदार गाउँपालिका जिल्ला सदरमुकामबाट दूरदराजमा रहेपनि उद्योग स्थापनाको लागि निकै सम्भावना रहेको बताउनु भयो । बडिकेदार गाउँपालिकालाई बिभिन्न सरकारी निकायहरुले पकेट क्षेत्र घोषणा गरेका छन । उत्पादन बढाउन लगानी पनि गरेका छन । तर उत्पादित बस्तुले बजार नपाउँदा स्थानीय कृषकहरु मार्कामा परेकाले स्थानीय स्तरमा उद्योग स्थापना गरेर प्रशोधन र बजारिकरण गर्नुपर्ने कुरामा जोड दिनु भयो ।
यसैगरि बडिकेदार गाउँपालिकाका उपाध्यक्ष इन्द्रा बोहरा (भाट)ले बडिकेदारका बिभिन्न स्थान अदुवा पकेट क्षेत्र भएकाले अदुवा प्रशोधन उद्योग स्थापना गर्न सकिने सम्भावना रहेको धारणा राख्नु भएको थियो ।
घरेलु तथा साना उद्योग कार्यालय राजपुर डोटीका प्रमुख दिपेन्द्र शाहले उद्योग स्थापनाका लागि औधोगिक योजना निर्माण गर्नु पर्ने कुरामा जोड दिनु भयो । उद्योग स्थापनाका लागि स्थानीय उत्पादनलाई बढाउनु पर्ने, त्यसको लागि बिभिन्न सम्बन्धित निकायले लगानी गर्नु पर्ने, उत्पादित बस्तुलाई स्थानीय स्तरमा प्रशोधन गरेर बजारिकरण गर्नुपर्ने बताउनु भयो ।