Prem

सवारी चालक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परीक्षा डोटी र डडेल्धुराबाट हुने

घण्टेश्वर अनलाईन
धनगढी कैलाली
सवारी चालक अनुमति पत्रको लागि डोटी र डडेल्धुरा जिल्लाबाट लिखित तथा प्रयोगात्मक परीक्षा (ट्रायल) दिन सकिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकार मन्त्री परिषदको आज सम्पन्न बैठकले डोटी र डडेल्धुरा जिल्लामा सेवा बिस्तार गर्ने निर्णय गरेपछि सेवाग्राहीलाई सहज हुने भएको हो । यो निर्णयसँगै सुदूरपश्चिमका पहाडी जिल्लाका सेवाग्राहीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन ।
डोटी र डडेल्धुरा जिल्लामा रहेका यातायात ब्यवस्था सेवा कार्यालयबाट मोटर साईकल, साना तथा मझौला सवारी साधनको लिखित तथा प्रयोगात्मक परीक्षा लिने गरि सेवा बिस्तार गर्ने निर्णय प्रदेश सरकारबाट भएको सुदूरपश्चिम प्रदेश सरकारका प्रबक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले जानकारी दिनु भयो ।
यस अघि सबै प्रकारका सवारी चालक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि धनगढी र महेन्द्रनगरमा जानु पर्ने बाध्यता थियो । धनगढी र महेन्द्रनगरमा सेवाग्राहीको चाप अत्यधिक रहेकाले लामो समय पालो कुर्नु पर्ने र खर्चिलो भएका कारण सेवाग्राहीहरुले सास्ती भोग्दै आएका थिए ।
प्रदेश सरकार अन्तरगत डोटी र डडेल्धुरा जिल्लामा रहेका यातायात व्यवस्था सेवा कार्यालयहरुले सवारी चालक अनुमति पत्र नविकरण, सवारी दर्ता (ब्लु बुक) नविकरण, सवारी जाँच पास लगाएताका आंशिक काम गर्दै आएकोमा अब पूर्ण रुपमा सेवा प्रदान गर्ने भएपछि सेवाग्राहीहरु हर्षित भएका छन ।
डोटी र डडेल्धुरा जिल्लामा प्रयोगात्मक परीक्षाको लागि ट्रायल सेन्टर निर्माण गरिएपनि सेवा सुचारु नहुँदा प्रयोग बिहिन अवस्थामा रहेका थिए । डोटी र डडेल्धुरा जिल्लाबासीले पहाडी जिल्लामा सवारी चालक अनुमति पत्र प्रदान गर्ने पूर्ण सेवा हुनु पर्ने माग गर्दै आएका थिए । ढिलैगरि भएपनि प्रदेश सरकारले गरेको यो निर्णय प्रशँसनिय छ, दिपायल राजपुरका होटल व्यवसायी खेमबिक्रम चन्दले भने ।
आज सम्पन्न प्रदेश मन्त्री परिषद्ले डोटी र डडेल्धुरा यातायात सेवा कार्यालयको सङ्गठन संरचना तथा दरबन्दी व्यवस्थापन सर्वेक्षण प्रतिवेदन स्वीकृत गरेको छ । उक्त निर्णयसँगै सेवा कार्यालयमा कर्मचारीको आवश्यक दरबन्दीको व्यवस्थापन हुनेछ ।
यो निर्णय सुदूरपश्चिमका पहाडी जिल्लाका सेवाग्राहीहरुको सहजताका लागि गरिएको हो । यो निर्णय चाँडै कार्यान्वयनमा आउने प्रदेश सरकारले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.