नेपाल पत्रकार महासँघ आजबाट स्थापनाको ६७ औं बर्षमा प्रबेश

स्थापना दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईयो

घण्टेश्वर अनलाईन
सिलगढी डोटी
नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ २०७८ चैत १६ गते आफ्नो स्थापनाको ६७ औं वर्षमा प्रवेश गरेको छ । नेपाल पत्रकार महासँघको स्थापना दिवस महासँघका प्रदेश समिति, प्रतिष्ठान तथा जिल्ला शाखाहरुले आज बिभिन्न कार्यक्रमको आयोजना गरि मनाएका छन ।
नेपाल पत्रकार महासँघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले आज एक शुभकामना मन्तब्य जारी गर्दै देशैभर र विश्वका विभिन्न स्थानमा छरिएर रहेका महासंघका सदस्यसहित आमनेपाली सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको छ ।
नेपाली प्रेसलाई स्वतन्त्र र मर्यादित बनाउने सन्दर्भमा पत्रकार महासंघ गम्भीर रहेको बताउदै अध्यक्ष पोख्रेलले महासंघसहित सरोकार पक्षसँग पर्याप्त छलफल र सहमतिमा प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी सञ्चारसम्बन्धी कानुन निर्माण गर्न सरकारलाई आग्रह गर्नु भएको छ ।
महासंघले अगाडि सार्दै आएका श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, साना लागानीका स्वरोजगारमूलक र गैरनाफामूलक सञ्चारमाध्यमको प्रवद्र्धन, पत्रकारको दक्षता अभिवृद्धिका लागि केन्द्र र प्रदेश स्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, आमसञ्चार प्राधिकरणजस्ता निकायको स्थापना, प्रेस काउन्सिलको पुनर्संरचना, समानुपातिक विज्ञापनको कार्यान्वयन, श्रमजीवी पत्रकार कल्याण कोषमा विज्ञापनको १० प्रतिशत रकम राख्नुपर्ने कानुनी व्यवस्थाको कार्यान्वयन, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, नि:शुल्क उपचारको प्रबन्ध, जेष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ता वितरणको व्यवस्था एवं आमसञ्चार विकास कोषको स्थापना लगायतका मागहरू पूरा गर्न सरकारसहित सम्बन्धित निकायहरूलाई स्थापना दिवसको अवसरमा अध्यक्ष पोख्रेलले ध्यानाकर्षण गराउनु भएको छ ।
यसै गरि नेपाल अमेरिका पत्रकार सँघ (नेजा) का अध्यक्ष बिकासराज न्यौपानेले नेपाल पत्रकार महासँघको ६७ औं स्थापना दिवसको अवसरमा सम्पूर्ण श्रमजीवी पत्रकारहरुमा शुभकामना ब्यक्त गर्नु भएको छ । देश र विदेशमा सकृय सवै पत्रकारको हक हित र व्यवसायिक पत्रकारितालाई अझ सशक्त वनाउन महासंघको योगदान अझ गहिरो बन्ने छ भन्नेमा म विश्वस्त छु, न्यौपानेले सामाजिक सन्जालमा दिनु भएको शुभकामना सन्देशमा उल्लेख छ ।
यसै गरि नेपाल पत्रकार महासँघको ६७ औं स्थापना दिवस डोटी शाखाले दिपायलका बिभिन्न अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरि मनाएको छ ।
दिपायल स्थित शैलेश्वरी अस्पताल, चोपडा अस्पताल, राजपुरमा रहेको सुजङ्ग अस्पताल र महाकाली मेडिकल क्लिनिकमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरेर स्थापना दिवस मनाएको अध्यक्ष मोहन शाहीले जानकारी दिनु भयो । उक्त अवसरमा महासँघका पदाधिकारीहरु, जिल्लामा कृयाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।
महासँघको स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासँघ डोटी शाखाका अध्यक्ष मोहन शाहीले सबै श्रमजीवी पत्रकारहरुमा शुभकामना ब्यक्त गर्नु भएको छ ।

यसै गरि डडेल्धुरा जिल्लामा नेपाल पत्रकार महासंघको स्थापन दिवसको अवसर  पारी जिल्लामा क्रियाशिल पत्रकारहरुको निःशुल्क आँखा जाँच र उपचार गरिएको छ ।
नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको आयोजनामा २४ जना क्रियासिल पत्रकारहरुको आँखा जाँच तथा उपचार, ७ जना पत्रकारहरुलाई निःशुल्क चस्मा बितरण गरिएको जिल्ला शाखा अध्यक्ष हिक्मत सिंहले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.