घण्टेश्वर अनलाईन
दिपायल
सुदूरपश्चिम प्रदेशको दिपायल र डडेल्धुरा जिल्लाबाट सवारी चालक अनुमति पत्र प्रदान गरिने भएको छ । डोटी र डडेल्धुरा जिल्ला स्थित यातायात ब्यवस्था कार्यालयहरुले सवारी चालक अनुमति पत्र प्रदान गर्न लिखित परीक्षा सम्पन्न गरिसकेका छन भने सवारी चालक अनुमति पत्र प्रदान गर्ने क्रममा लिईने प्रयोगात्मक परीक्षा स्थल (ट्रायल सेन्टर) को शनिवार सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले छुट्टा छुट्टै समारोहका बिच दिपायल र डडेल्धुरामा उद्घाटन गर्नु भएको छ ।
शनिबार बिहान डोटीको दिपायलमा आयोजना गरिएको ट्रायल सेन्टर उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले बर्षेनी सवारी दुर्घटनाबाट सयौं यात्रुले ज्यान गुमाउनु गरिरहेको अवस्था दक्ष सवारी चालक उत्पादन गर्न आबश्यक रहेको खाँचो औंल्याउनु भयो । पहाडी जिल्लामा सवारी दुर्घटनाको जोखिम बढी रहेकाले सवारी चलाउन सक्ने सीपमा दक्ष भएपछि मात्र सवारी चालक अनुमति पत्रको लागि आबेदन दिन आग्रह गर्नु भयो ।
ट्राफिक नियमको पालना मात्रै गर्न सकियो भने सडक दुर्घटनालाई न्यूनिकरण गर्न सकिने भएकाले ट्राफिक नियम सम्बन्धि जानकारी समुदाय तथा बिद्यालय स्तरसम्म पुर्याउनु पर्ने मुख्यमन्त्री भट्टको जोड थियो ।
डोटी र डडेल्धुरा जिल्लाबाट सवारी चालक अनुमति पत्र बितरण गर्ने सन्दर्भमा साउनको अन्तिम साता लिखित परीक्षा सन्चालन गरिएको थियो । यसैक्रममा डडेल्धुरा जिल्लाबाट कार र जीपका लागि ४३ जनाले लिखित परीक्षा दिएकोमा २७ जना उत्तीर्ण भएका छन् भने मोटरसाइकल र स्कुटरका लागि ११७ जनाले लिखित परीक्षा दिएकोमा १०६ जना उत्तीर्ण भएको यातायात ब्यवस्था कार्यालय डडेल्धुराका प्रमुख मेखराज उपाध्यायले जानकारी दिनु भयो ।
डोटी र डडेल्धुरा जिल्लामा यातायात व्यवस्था कार्यालय स्थापना भएपछि सवारी साधन सम्बन्धि बिभिन्न सेवा लिन, सवारी चालक अनुमति बनाउन हजारौं खर्च गरेर धनगढी महेन्द्रनगर जानु पर्ने बाध्यता हटेको उपाध्यायले बताउनु भयो । शनिबार पहिलो दिन प्रयोगात्मक परीक्षामा सहभागि भएका सबैजना परीक्षामा उत्तीर्ण भएको कार्यालयले जनाएको छ ।
दुबै जिल्लाका यातायात ब्यवस्था कार्यालयबाट दुई तथा चार पाङ्ग्रे सवारी साधनको कर सङ्कलन, हाललाई दुई पाङ्ग्रे सवारी साधनको दर्ता तथा नामसारी, सवारी दर्ता प्रमाण पत्र नबिकरण, सार्वजनिक सवारी साधनहरूको प्राविधिक जाँच पास गर्ने कार्यहरू हुने बताईएको छ ।
त्यस्तै नयाँ रुट परमिट जारी एवम् नबिकरण गर्ने, यातायात सेवाको नाम पंजिकरण गर्ने, सवारी चालक अनुमति पत्र जारी गर्ने र अस्थायी रुट इजाजत दिने सेवाहरु प्रदान गरिने यातायात ब्यवस्था कार्यालय दिपायलका प्रमुख पूर्णबहादुर शाहले जानकारी दिनु भयो ।
इातायात ब्यवस्था कार्यालय डोटीले डोटी अछाम, बाजुरा र डडेल्धुरा कार्यालयले डडेल्धुरा बैतडी, बझाँग र दार्चुलालाई सेवा दिने बताईएको छ ।